भारतका स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै, राष्ट्रपतिले मानार्थ महारथीले सम्मान गर्ने

भारतका स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै, राष्ट्रपतिले मानार्थ महारथीले सम्मान गर्ने

काठमाडौं : छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउने भएका छन्।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यस अवसरमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा भेटवार्ता गर्नेछन्।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

उनले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्नुहुने कार्यसूची छ।

प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउन लागेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ।

यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

कात्तिक २८, २०८१ बुधबार १४:१९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।