रास्वपामा सेकेन्ड म्यानको लडाइँ, उपसभापति हुँदा-हुँदै चुनावको टिकट बाँड्ने अधिकार कार्यवाहक महामन्त्रीलाई
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा पुगेको एक महिना हुन लाग्यो। तर, उनी पार्टीको सभापति नै कायम छन्। कसैले कार्यवाहकको जिम्मेवारी पनि पाएका छैनन्।
उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेमध्ये कसलाई कार्यवाहक दिने भन्ने अन्योलले काम गरेको संकेत देखिएको थियो। वाग्ले रास्वपामा नजाँदा डीपी कार्यवाहक भएका थिए। तर, वाग्लेको प्रवेशसँगै उनी नै हावी भए।
कार्यवाहक तोक्दा पार्टी नै दुई समूहमा विभाजित हुनसक्ने जोखिम बढेपछि रविले हिरासतबाटै पार्टी नेतृत्व गरिरहे।
दुई उपसभापतिबीच कार्यवाहकका लागि प्रतिष्पर्धा रहेको र एकले अर्कालाई स्वीकार गर्न नसक्ने अवस्था रहेको रास्वपाले नै बुधवार पुष्टि गरिदियो, स्थानीय तहको उप-निर्वाचनका उम्मेदवारलाई टिकट कसले दिने भन्ने विषयमा।
यस अगाडि पार्टीको असोज १३ को बैठकले उम्मेदवारलाई पार्टी सभापतिले टिकट दिने निर्णय गरेको थियो। उनी प्रहरी हिरासतमा पुगेपछि अब टिकट दिने जिम्मेवारी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पाएका छन्।
कात्तिक २६ गतेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको अर्का कार्यवाहक प्रवक्ता मनिष झाले सार्वजनिक गरे।
पार्टी सभापति नभएको अवस्थामा पार्टी नेतृत्व स्वत: उपसभापतिको जिम्मेवारीमा आउँछ। हुनुपर्ने यही नै हो। त्यस अनुसार दुई उपसभापतिमध्ये एकले स्वत: टिकट वितरणको अधिकार पाउनु पर्ने हो।
तर दुई उपसभापति रहेको र एकलाई जिम्मेवारी दिँदा अर्को रिसाउने जोखिम हटाउन पार्टीले तेस्रो व्यक्तिलाई सभापतिको अधिकार प्रत्यायोजन गर्यो।
कात्तिक २८, २०८१ बुधबार १३:३०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।