पहाडसँग टाउको जुधाउँदै 'ह्रस्व दीर्घ' टीम, पहिलो दिनको शो संख्या जम्मा ६१

पहाडसँग टाउको जुधाउँदै 'ह्रस्व दीर्घ' टीम, पहिलो दिनको शो संख्या जम्मा ६१

काठमाडौं : फूलपातीमा एकै दिन तीन नेपाली फिल्म रिलिज हुँदा पनि सबैभन्दा कम शो पाएको ‘ज्वाइँ साब’को शो संख्या थियो ८०। शुक्रबार एउटा मात्र नेपाली फिल्म मात्र रिलिज हुँदैछ- ‘ह्रस्व दीर्घ’। तर, बुधबार दिउँसोसम्म गणना गर्दा यसले रिलिजकै दिन पाएको शो संख्या हो मात्र-६१।

करिब ६ करोड लगानीमा बनेको यो फिल्मले लगानी उठाउन पनि करिब २० करोड हाराहारीको ग्रस कलेक्सन गर्नुपर्छ। त्यो भनेको करिब सात लाख दर्शकले टिकट काटेर फिल्म हेर्नुपर्छ। अब रिलिजकै दिन ६१ शो पाएको फिल्मले कसरी पुर्याउला सात लाख दर्शक!

नीता ढुंगाना अनि हरिहर अधिकारीले लामै समय लगाएर बनाएको फिल्ममा दक्षिण भारतीय कलाकार त छन् नै, फिल्म निर्माण शैली पनि उतैको छ। ट्रेलर रिलिज नभएसम्म त फिल्म डब्बा बन्ने संकेत देखाएको थियो। ट्रेलरले भने केही हाइप बढाएको थियो फिल्मको। तर त्यो अनुसार पनि शो संख्या भने बढेन।

दोस्रो साता पनि हलहरूमा ‘पूर्ण बहादुरको सारङ्गी’को कब्जा नै छ। प्राय शोहरू हाउसफूल छन्। जुन फिल्म हेर्न दर्शकले टिकट पाउन मुस्किल छ अब त्यो फिल्म हलबाट उतारेर दर्शकबाट कस्तो प्रतिक्रिया आउने हो पत्तै नभएको फिल्मलाई हल सञ्चालकहरूले माया मात्र गरेर शो दिउन् पनि कसरी।

‘ह्रस्व दीर्घ’सगैँ अर्को नेपाली फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ पनि रिलिज हुँदै थियो। उनीहरूले ‘पूर्ण बहादुरको सारङ्गी’को बढेको हाइपको बेलैमा आँकलन गरेर रिलिज डेट सारे। डेट सार्दा ‘पूर्ण बहादुरको सारङ्गी’को सम्मानका लागि भनेर सम्मान पनि देखाए।

तर, ज्योतिष समेत रहेका हरिहर अधिकारीले फिल्मको भाग्य नै हेरेनन् कि जस्तो देखियो, पहाडमा टाउको ठोक्काउन आए। उनले बुझ्नुपर्ने थियो, ‘टाउको पहाडमा ठोक्किए पनि क्षति टाउकाकै, पहाड टाउकोमा ठोक्किए पनि क्षति टाउकाकै’

अहिलेका लागि हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ पहाड समान बनिसक्यो, ‘ह्रस्व दीर्घ’ टाउको समान। अब क्षति कसको होला?

कात्तिक २८, २०८१ बुधबार १३:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।