‘५० लाखे हिरो’को सूचीमा थपिए समिर र विपिन, ३० लाख दिँदासमेत भने- ‘नो’

‘५० लाखे हिरो’को सूचीमा थपिए समिर र विपिन, ३० लाख दिँदासमेत भने- ‘नो’

काठमाडौं : केही फिल्म दर्शकले रुचाएपछि कलाकारहरूले आफ्नो पारिश्रमिक तोक्ने गर्छन्। बलिउडदेखि हलिउडसम्ममा यस्तो हुनेगर्छ। तर नेपालमा भने एउटा फिल्म चल्नेबित्तिकै कलाकारहरू यसरी पारिश्रमिक तोक्छन् कि जोकोहीले उनीहरूलाई लिएर फिल्म नै बनाउन सक्दैनन्।

यस्तै देखिए दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट डेब्यु गरेका अभिनेता समिर भट्ट पनि। पहिलो फिल्म नै सुपरहिट भएपछि अहिले उनलाई लिएर फिल्म बनाउने निर्माताको पनि भीड छ। उनीहरू समिरलाई  फिल्मको लागि प्रस्ताव राख्छन्।

तर, जब समिरले आफ्नो पारिश्रमिक भन्छन्, अनि उनीहरू कोही न्याम्म पर्छन् कोही झस्किन्छन्। किनकी उनको डरलाग्दो पारिश्रमिक भन्ने कबोल्ने गरेका छन्।

आइतबार मैतीदेवीको एक क्याफेमा भेटिएका निर्माताले आफूले बनाउन लागेको फिल्ममा समिरलाई अफर गरेकोमा पारिश्रमिकाके कुरा नमिलेको बताए। समिरले २५ देखि ३० लाखमा खेल्न तयार भए खेलाउन खेलाउन तयार हुँदा समेत उनलाई खेलाउन नपाएको ती निर्माताको भनाइ छ। ती निर्मातालाई समिरले ५० लाखको अडान राखेछन्।

‘समिरलाई ३० लाख रुपैयाँसम्म दिन म तयार थिएँ,’ ती निर्माताले भने, ‘उनले ५० लाखको अडान राखे। त्यसपछि म पनि अर्को विकल्पमा जान बाध्य भएँ।’

समिरको एक्सनलाई दर्शकले रुचाएका छन्। उनको पहिलो फिल्मले नै २० करोड भन्दामाथिको व्यापार गरेकाले निर्माताहरू उनको पछि लागेका हुन्।

समिरले तत्कालको लागि आफूलाई ‘५० लाखे हिरो’को रूपमा उभ्याए पनि उनको यो अडान लामो समय नजाने ती निर्माताले बताए। पछिल्लो समय समिर सन्तोष सेनको फिल्म ‘बलिदान’मा अभिनय गर्दैछन्।

यसअघि नेपालमा ५० लाख पारिश्रमिक लिने हिरोमा अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का, दयाहाङ राई हुँदै विपिन कार्कीसम्मको नाम अग्रस्थानमा छ।

अनमोलले ५० लाखभन्दा एक रुपैयाँ कममा पनि काम गर्दैनन् रे। उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’मा ५० लाख रुपैयाँ पारिश्रमिक दिएको निर्माता रोहित अधिकारीले दाबी गरेका थिए।

अनमोलले ५० लाखबाट सरकारलाई ७ लाख ५० हजार कर तिरेको रसिद समेत सार्वजनिक गरेका थिए। तर अन्य कलाकारले भने यसरी रसिद नै सार्वजनिक गरेका छैनन्।

अहिले यहि समूहले निर्माण गरेको फिल्म ‘जेरी अनटप’मा पनि अनमोलले काम गरिरहेका छन्। पहिलो सहकार्य फ्लप भएपछि निर्माताले अहिले उनलाई ५० लाख नै तिरेर फिल्म खेलाउन सक्ने अवस्था छैन। यद्यपि यसपाली उनको पारिश्रमिक अहिलेसम्म चर्चामा आएको छैन।

५० लाख पारिश्रमिक लिनेमा अर्का कलाकार थपिएको समेत चर्चा चुलिन थालेको छ आजकल। अभिनेता विपिन कार्कीले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेलभिसा’मा ५० लाख पारिश्रमिक लिएको दाबी गरिएको छ।

सोमबार फिल्मको पत्रकार सम्मेलनमा उनको पारिश्रमिकबारे कुरा उठेपछि उनले ‘यसबारे निर्माताले नै बोल्नुहुन्छ नि!’ भन्दै पन्छिए। जवाफमा निर्मात्री समेत रहेकी फिल्मकी अभिनेत्री ऋचा शर्माले विपिनको मेहनतको लागि एक करोड दिँदा पनि कम हुने तर्क गरिन्।

‘उहाँ अफस्क्रिन र अनस्क्रिन दुवैमा साह्रै सहज हुनुहुन्छ। हाम्रो अमेरिकाको सेड्युल ‘टफ’ थियो,’ उनले पारिश्रमिकको कुरालाई जोड्दै भनिन्, ‘उनले स्टारडम अनुसार व्यवहार गर्नुभएको भए हामीलाई गाह्रो हुन्थ्यो। उहाँ अभिनय र व्यवहारको हिसाबले ५० लाख मात्र होइन, एक करोड डिजर्भ गर्नुहुन्छ।’

अब फिल्मको ठूलै पारिश्रमिक लिनेहरूले काम चाहिँ कति पाइरहेका छन् त? अनमोल केसीले ‘फर्की फर्की’ कै टिमसँग काम गरिरहेका छन्। त्यो बाहेकका निर्माताहरूले उनलाई लिन चाहेका छैनन्। पुष्प खड्काले फिल्म नपाएकै धेरै भइसक्यो। फिल्ममा फर्कन लागेको चर्चाका बीच उनी म्युजिक भिडियोमै रमाइरहेका छन्।

कात्तिक २८, २०८१ बुधबार १२:००:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।