‘तेल भिसा’का निर्माता-निर्देशकमाथि ठगी आरोप, अमेरिका लैजान्छु भन्दै डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी
काठमाडौं : फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशकले अमेरिका लैजान्छु भनेर ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।
फिल्मका निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेले अमेरिका लैजान्छु भनेर डेढ करोड ठगी गरेको दाबीसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको हो।
उनीहरूले पैसा लिएर पनि अमेरिका नलगेपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका हुन्। प्रहरीमा परेको जाहेरीमा ‘न अमेरिका लगेको न त पैसा नै फिर्ता गरेको’ भन्दै कारबाहीको माग गरिएको छ।
उता यो जोडी भने अमेरिका गएका नेपालीले कस्तो दु:ख पाउँछन् भनेर दु:ख देखाउन फिल्म ‘तेल भिसा’को निर्माण गरेर अहिले प्रचारमा व्यस्त छन्।
शंकर अनि ऋचा दुवै अमेरिका बस्दै आएका छन्। यी दुवै नेपाली फिल्म क्षेत्रमा सक्रिय थिए। ऋचा नेपाली फिल्म क्षेत्रमा परिचित अभिनेत्री समेत हुन्।
उनीहरूले वीपिन कार्की, वर्षा राउत लगायतका कलाकारलाई अमेरिका लगेर फिल्मको सुटिङ गरेका थिए। यता फिल्म रिलिजको मिति तोकेर प्रचारमा हिँड्नु पर्ने बेलामा ठगीमा प्रहरी हिरासत जाने जोखिम बढेको छ।
कात्तिक २८, २०८१ बुधबार ११:२०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।