मुलपानीमा कर्नाटक यु१९सँग पाँच खेलको अभ्यास सिरिज खेल्दै यु१९ पुरुष क्रिकेट, पहिलो खेल आज
काठमाडौं : एसीसी यू-१९ एशिया कप प्रतियोगिताको तयारीस्वरूप नेपाली राष्ट्रिय टोलीले ५ वटा एकदिवसीय शृंखला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले कर्णाटक यू-१९ (द कर्णाटक स्टेट क्रिकेट एशोसिएशन) टोलीसँग बुधबार पहिलो खेल खेल्दैछ।
अभ्यास सिरिजका सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ। एक दिनको अन्तरमा हुने अभ्यास खेलहरू आगामी अर्को साताको बिहीबारसम्म हुनेछ।
कर्नाटकसँग अभ्यास खेल खेलेपछि नेपाली टोली एशिया कप खेल्न यूएईतर्फ जानेछ। यही मंसिर १४ गतेदेखि २३ गतेसम्म एसीसी यू-१९ एशिया कप यूएईमा आयोजना हुँदैछ।
एशिया कपमा सहभागी हुने १८ सदस्यीय नेपाली टोलीले हेमन्त धामीको कप्तानीमा खेल्नेछ। समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन्।
नेपालले मंसिर १४ गते श्रीलंकासँग, १६ गते बंगलादेशसँग र १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक शक्ति गौचन छन् भने उनलाई धिरेन्द्र चन्द सहायक प्रशिक्षकको रूपमा सहयोग गर्नेछन्।
नेपाली टोली
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी‚ दिल्साद अली, रञ्जित कुमार
कात्तिक २८, २०८१ बुधबार ०८:११:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।