मानव तस्करका आरोपी पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

मानव तस्करका आरोपी पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

काठमाडौं : कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ। 

अधिकारीमाथि अवैध रूपमा नेपाली नागरिकलाई जापान पठाएको गिरोहसँग संलग्नताको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। 

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

यसअघि आइतबार दुई दिनको म्याद थप गरिएको थियो। अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौं ल्याइएको थियो। 

उनीसँगै अन्य पाँच जना पनि त्यही प्रकरणमा पक्राउ परेका प्रहरीले जनाएको छ। पूर्वमन्त्री अधिकारी मानव तस्करीमा जोडिएको यस घटनामा नक्कली कागजको आधारमा मन्त्री अधिकारीसँग जापान गएर उतै लुक्ने उद्देश्यले गएका तीन जनासमेत छन्।

खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा नक्कली कागजका आधारमा मन्त्रीसँगै जापान गएको देखिएको र उनीहरुसहित ६ जना प्रहरी हिरासतमा छन्।

जापानबाट डिपोर्ट भएका तीन जनाको बयानको आधारमा प्रहरीले धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवारलाईसमेत समातेको छ।

यही कात्तिक १३ मा जापान जाने क्रममा त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यक्तिहरू फिर्ता भएका थिए।    

कात्तिक २७, २०८१ मंगलबार २१:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।