‘२१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता’ मंसिर २० देखि

‘२१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता’ मंसिर २० देखि

काठमाडौं : नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ सम्म '२१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता २०८१' को आयोजना गर्ने भएको छ। 

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा उक्त व्यापार मेला आयोजना गर्न लागिएको महासंघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। 

उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, नयाँ-नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको मागअनुरुपका वस्तु डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए।

महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको मेलामा यसपटक स्वदेशी तथा विदेशी क्रेता तथा बिक्रेताबीच एकआपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने उद्देश्य राखिएको छ। 

बौद्धस्थित होटल हायात परिसरमा आयोजना हुने मेलाको उद्घाटन राष्ट्रपतिले गर्ने कार्यक्रम रहेको र मेलाको अवलोकनका लागि मन्त्रीहरू, उच्चपदस्थ अधिकृतलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति मेलामा हुने महासंघले जनाएको छ। 

व्यापार मेला आयोजनाका लागि उद्योग वाणिज्य क्षेत्रका छाता संगठनहरू, बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनीहरू, बीमा कम्पनीहरू, ठूला औद्योगिक, व्यापारिक तथा प्रतिष्ठानहरू र अन्य व्यापारिक क्षेत्रका संघसंस्था र कम्पनीहरूको पनि सहयोग रहने बताइएको छ।

छिमेकी राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशका उद्योगी व्यापारीहरूको सहभागिता रहने मेलामा हस्तकलाका उत्पादनहरूका करिब १५० वटा स्टल रहने आयोजकले जनाएका छन्। त्यस्तै, व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरूसमेतको सहभागिता रहने महासंघले जनाएको छ।

मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरूलगायत अन्य हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिने बताइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रमभित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रूपमा प्रदर्शनी गर्ने कार्यक्रम छ। 

मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिहरूका लागि स्टल नि:शुल्क उपलब्ध गराइने पनि आयोजकले जनाए।  

कात्तिक २७, २०८१ मंगलबार २०:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।