रास्वपा सांसदसहितका जलन पीडित निःशुल्क उपचारको व्यवस्था मिलाइदिने स्वास्थ्यमन्त्रीलाई धन्यवाद दिन पुगे
काठमाडौं : पीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै जलन पीडितहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन्।
मन्त्रालयमा गएका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, रास्वपा सांसद विन्द्यवासिनी कंशकारसहितका जलन पीडितहरूले विगतमा पटक-पटक उठाउँदै आए पनि जलन पीडितका पक्षमा महत्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए।
आफैं जलन पीडित सांसद कंशाकारले भनिन्, ‘विगतमा मैले धेरै स्वास्थ्य मन्त्रीसँग भेटेर कुरा गरें। संसदमा प्रस्ताव पनि दर्ता गराएँ। त,र सुनुवाइ भएको थिएन। अहिले स्वास्थ्य मन्त्रीज्यूले हामीले लामो समयदेखि उठाएको जलन पीडितका पक्षमा निर्णय गरिदनुभयो। यहाँलाई धन्यवाद।’
जलन पीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताए।
‘अहिलेसम्म कसैले सम्बोधन नगरेको विषयमा चाँडै नै मन्त्रीज्यूले गर्नुभएको निर्णय महत्वपूर्ण छ,’ उनले भने।
उनले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने बताए।
त्यसैगरी तनहुँका श्याममणि आचार्यले आफू जलनको पीडामा हुँदा विगतमा पनि मन्त्री पौडेलले साथ दिएको स्मरण गर्दै अहिले भएको निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताए।
झापाकी जलन पीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महँगो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा गरिन्।
मन्त्री पौडेलले आफूले नेता चन्द्र भण्डारीदेखि धेरै पीडितको समस्या देखेको भन्दै भोलि कसैले आर्थिक अभावमै ज्यान गुमाउनु वा अंगभंग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तार गरिएको बताए।
‘मैले उपचार अभाव तथा ढिलाइ भएका धेरैको पीडा आफूले नभोगे पनि देखेको छु,’ उनले भने, ‘यी समस्या समाधान गर्न बजेटमा नपरे पनि पनि आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर उपचार सातै प्रदेशमा अनि नसक्नेलाई निःशुल्क बनाएका हौं।’
उनले अब विद्युतका कारण हुने जलनमा विद्युत प्राधिकरणबाट उपचार वा बीमाका सम्बन्धमा के गर्न सकिन्छ भनेर लागिरहेको बताए।
कस्मेटिक उपचारमा महँगो शुल्क भन्ने गुनासो समाधान गर्नसमेत अनुगमन र नियमन गर्ने मन्त्री पौडेलको भनाई छ।
कात्तिक २६, २०८१ मंगलबार १९:३८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।