मनाङेलाई अदालतले जहिले पनि किन डिल्लीबजारकै जेलमा पठाउँछ?

मनाङेलाई अदालतले जहिले पनि किन डिल्लीबजारकै जेलमा पठाउँछ?

काठमाडौँ : करिब दर्जन पटक पक्राउ परे पनि मङ्गलवार चक्रे मिलनको हत्या प्रयासमा दोषी भएर कारागार चलान भएसम्म दीपक मनाङे केवल चार पटक मात्र जेल परेका छन्।

काठमाडौँमा अपराध गरेको अभियोगमा पुर्पक्षका लागि होस् या अदालतबाट तोकिएको कैद सजाय काट्न होस्, पठाउने केन्द्रीय कारागार वा डिल्लीबजार कारागार नै हो।

मनाङेको हकमा भने उनी जे जस्तो कसुरमा जेल परे पनि सधैँ डिल्लीबजार कारागारै पुगे। पहिलो पटक कुटपिटको अभियोगमा डेढ वर्ष कैद सजाय तोकिदा पनि उनी डिल्लीबजारमै बसेका थिए।

दीपक मनाङे र राजीव गुरुङ फरक-फरक व्यक्ति हुन् भन्ने पारेर सर्वोच्च अदालतलाई झुक्क्याउँदै कारागारमुक्त हुँदा पनि उनी डिल्लीबजारमै थिए।

पहिलो पटक चक्रेको हत्या प्रयासमा तोकिएको दुई वर्ष जेल सजाय होस् या प्रदेश सांसद भइसकेपछि कैद सजाय भुक्तान गर्न बाँकी भएको खुलेसँगै पक्राउ परेर जेल पुग्दा होस् उनी डिल्लीबजारकै जेलमा गए। सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि मनाङे डिल्लीबजारमै बसेका थिए।

उनी एकै घटनाको तोकिएको कैद सजाय भुक्तान गर्न बाँकी रहेको भन्दै उनी तेस्रो पटक मङ्गलवार पक्राउ पर्दा पनि बाँकी रहेको ३२ महिना कैद सजाय काट्न उही डिल्लीबजार कारागारै चलान भए।

डिल्लीबजार कारागारमा ब्लक 'क' अनि ब्लक 'ख' गरेर दुई भागमा विभाजित छ। जेल मात्रै एकै हैन, उनी सधैँ डिल्लीबजारको ब्लक ख मै पुगेका छन्।

मनाङे मात्रै हैन, अर्का गुन्डा नाइके चक्रे मिलन पनि जति पटक जेल चलान भए त्यति नै पटक केन्द्रीय कारागार पुगे। उनी कहिल्यै डिल्लीबजार कारागार गएनन्। आखिर किन? मनाङे अनि चक्रेको डिल्लीबजार र केन्द्रीय कारागारको सम्बन्धको पृष्ठभूमि निकै रोचक छ।

फाट्टफुट्ट टोले गुन्डाको रूपमा नाम आए पनि काठमाडौँको गुण्डागर्दीमा यी दुवै एकै पटक चर्चामा आए २०५० तिर। अनि यी दुवै प्रारम्भदेखि नै एक अर्काको कट्टर दुस्मनको रूपमा उदाए। काठमाडौँमा हुने अधिकांश ग्याङवारमा यी दुवै समूह नै जोडिन्थ्यो।

यी दुई पटक-पटक समातिए पनि यिनका सहयोगीहरू भने पटक-पटक समातिन्थे। अनि मनाङेको समूहका कोही समातिए डिल्लीबजार जेल पठाइन्थ्यो। अनि चक्रे समूहका सदस्य समातिए सिधै केन्द्रीय कारागार। त्यो यिनीहरूको हकमा पनि लागु भयो।

यसरी सधैँ एकै जेलमा पठाउनुको कारण थियो जेलभित्र हुनसक्ने सम्भावित भिडन्त रोक्ने। दुवै समूहका सदस्यहरूबिच कारागार बाहिर मात्रै हैन, कारागारभित्र पनि उत्तिकै दुस्मनी हुने भई नै हाल्यो।

दुवै समूहका सदस्यहरूलाई एकै कारागारमा राख्दा कारागारभित्रै भिडन्त हुनसक्ने डरले नै प्रहरीले प्रारम्भदेखि नै यी दुवै समूहका नाइके अनि सदस्यहरूलाई कारागार पठाउँदा एकै कारागारमा पठाएनन्। सधैँ अलग अलग कारागारमै पठाए।

निरन्तर कारागार गइराख्ने भएपछि आफू अनि आफ्ना समूहका सदस्यहरूको सुविधाका लागि यिनीहरूले जेलभित्र आफ्नो लागि अलग कोठा बनाए।

अब समूहका नाइके नै जेल परेको अवस्थामा त त्यो कोठा उनकै हुने भइहाल्यो, समूहका सदस्य जेल गएमा पनि त्यहाँको कोठामा उनकै हक लाग्यो।

उनीहरूले जेलभित्र आफ्नै पैसा खर्च गरेर सुविधायुक्त कोठा त बनाएका छन् नै, बगैँचा, लाइब्रेरी जस्ता संरचना पनि बनाएका छन्। डिल्लीबजार अनि केन्द्रीय कारागारभित्र उनीहरूले बनाइदिएको भौतिक संरचनामा उनीहरूकै नाम समेत छ।

यी एकै पटक जेल समेत परेका थिए सम्पत्ति शुद्धीकरणको मुद्दामा। त्यो बेलामा पनि यी एकै जेलमा बसेनन्। यी दुवै एकै पटक,एकै ठाउँमा बसेको भनेको जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासत कक्ष हो। 

२०७४ को स्थानीय तहको निर्वाचनको समयमा निर्वाचन सुरक्षामा प्रभाव पार्न सक्ने भन्दै प्रहरीले मनाङे र चक्रेलाई पक्राउ गरेको थियो। पक्राउ मात्रै हैन यी दुबैलाई एकै हिरासत कक्षमा समेत राखेको थियो। दुवै एकै खाटमा बसेको तस्बिर शुक्रवार साप्ताहिकले सार्वजनिक गरेको थियो।

प्रारम्भमा प्रहरीले दुवै समूहबीच हुनसक्ने भिडन्त रोक्न लगाएको आइडिया पछि आएर भने स्थायी चलन जस्तै भयो। त्यसैले मङ्गलवार मनाङे कारागार चलान हुँदा पनि उही जेलको स्थायी ठेगाना,’डिल्लीबजार कारागार, ब्लक ख’ मै गए।

सम्बन्धित समाचार

कात्तिक २६, २०८१ मंगलबार १९:३०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।