रूपन्देहीमा सञ्चारकर्मीसँग रवि ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’, इजलासभित्र बयानमा रवि ‘मलाई थाहा भएन’

रूपन्देहीमा सञ्चारकर्मीसँग रवि ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’, इजलासभित्र बयानमा रवि ‘मलाई थाहा भएन’

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आजका लागि स्थगित भएको छ।

रूपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका रविको बयान आज नसकिएपछि स्थगित भएको हो। अब उनको बुधबार बिहान पुन: बयान लिइनेछ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी लक्ष्मी खनालले समय अभावका कारण मंगलबार बयान नसकिएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिइन्।

यता, रविले आजको बयान इन्कारी दिएका छन्। आफ्नो नाममा रकम आएकोबारे उनले केही थाहा नभएको बयानमा भनेका छन्। 

‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन, कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, त्यो मलाई थाहा भएन,’ रविले बयानमा भनेका छन्।

रूपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि फर्किने क्रममा रविले सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफूलाई बाघको संज्ञा दिए। 

‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’ उनले भनेका छन्।

दिउँसो साढे १२ बजे पोखराबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जहाजमार्फत् ल्याइएका रविलाई सरकारी वकिल कार्यालय लगेर बयान लिइएको थियो।

सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रवि र जीबी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिएको थियो। बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रविको नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

रवि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा गत कात्तिक २ मा पक्राउ परेका थिए। त्यसयता कास्की प्रहरीको हिरासतमा रहेका उनलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो। 

पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न उनलाई रुपन्देही ल्याएको हो।

यसअघि सहकारी ठगी प्रकरणमै कास्कीमा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही ल्याएर बयान लिई कास्की पठाइसकिएको छ। 

रविको नाममा बुटवल उपमहानगरपालिका-९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो।

२ करोडमध्ये संस्थाले लिने सेवा शुल्क कटाएर रविले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ। ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए। त्यस्तै, गोर्खा मिडियाकै उपाध्यक्ष जोशीको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ।

छविले २०७७ माघ २९ मा २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ। रवि र छवि दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ।

गुल्मीको मालिका गाउँपालिका-८ घर भएका ३० वर्षीय सागर केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ। रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन्। केसी फरार छन्। 

संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र पूर्व उपराष्ट्रपतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिए पनि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन। 

प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा रवि गृहमन्त्री थिए। तर, अहिले प्रहरीले उनीविरूद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरूको ८६ करोड बढी वचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो।

मुद्दा दायर भएका २८ जना मध्ये ८ जना पक्राउ परेका छन्। जसमा २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन् भने ५ जना धरौटीमा रिहा भएका छन्। जीबी राईसहित अन्य व्यक्तिहरू वैशाखदेखि फरार छन्। 

सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसीसहित १९ जना फरार छन्। रवि र छविसहित पछिल्लोपटक पक्राउ पुर्जी जारी हुनेमा रुपन्देहीका दीपक लामा, अनन्तबाबु राई (जीबी राईको भाइ), नरेश जिसी, शिवबहादुर गुरुङ, श्रीबल्लव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बमजन, विज्ञान राई, सुरक्षा अधिकारी छन्।

प्रहरीले ती सबैलाई अनुसन्धानका लागि पक्राउ गरेर मुद्दा दायर गर्ने तयारी गरेको छ। 

सम्बन्धित समाचार :  

कात्तिक २७, २०८१ मंगलबार १९:०८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।