संविधान संशोधनको प्रक्रिया नथालिएकोमा सत्ता गठबन्धनभित्रै आलोचना, शङ्कर पोखरेल बचाउमा उत्रिए
मोरङ : एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनअघि संविधान संशोधन हुनसक्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए।
उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने दाबी गरे। संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने उनको भनाइ छ।
त्यसअघि नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार संविधान संशोधनलगायतका महत्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको सात बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरू नगरेकोमा आपत्ति जनाएका थिए।
नेता कोइरालासहित राजनीतिक वृत्तमा संविधान संशोधन गर्न वर्तमान सरकार बनेको भन्दै सरकार त्यतातर्फ अग्रसर नभएकोमा आलोचना हुन थालेको छ। त्यसपछि महासचिव पोखरेलले त्यसको बचाउ गर्दै सरकारले संविधान शंसोधनको प्रक्रिया अघि बढ्नुपर्नेमा बताए।
कात्तिक २७, २०८१ मंगलबार १७:५०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।