आफ्नै पार्टीका सांसदले करोड घुस लिएर क्यासिनोको लाइसेन्स दिएको आरोप लगाएपछि के भने पर्यटनमन्त्रीले?

आफ्नै पार्टीका सांसदले करोड घुस लिएर क्यासिनोको लाइसेन्स दिएको आरोप लगाएपछि के भने पर्यटनमन्त्रीले?

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गरेका छन्। 

मंगलबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरूलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताए। 

उनले भने, ‘पहिला राजनीति गर्ने व्यक्तिहरू बलियो हुनुहुन्थ्यो। अहिले स्वार्थ समूहका शक्तिशाली भएको देखिरहेको छु। मैले तीन/चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले मलाई मानमर्दन गर्ने, मेरो मनोबल र आत्मबललाई गिराउने गरी काम गरिरहेका छन्।’ 

उनले आफू संस्कृति पढेको, धर्मप्रति आस्था र विश्वास राख्ने व्यक्ति भएको दाबी गर्दे आफूले राजनीतिलाई सेवाभावको रुपमा बुझेको बताए। 

राजनीतिभित्र विकृति विसंगतीका मतियारहरुले तथ्य, प्रमाण र हल्लाका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दे अपवाह फैलाइएको भन्दै आक्रोश व्यक्त गरे। 

उनले आफूले करोड त कौडी खाएको पुष्टि गरेपनि राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको बताए। 

‘म यो पशुपतिनाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरूलाई प्रयोग गरेर, केही बिचौलियाका मतियारहरूले आरोप लगाएका छन्, करोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु।’

त्यसअघि पर्यटनमन्त्री पाण्डेमाथि आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईँले करोडौं रूपैयाँ घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए। 

बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे।’

केही दिनअघि पर्यटनमन्त्री पाण्डे असफल, असक्षम र नालायक भएको भन्दै हवाई टिकट कालोबजारीविरुद्ध माइतीघरमा प्रदर्शनसमेत गरेका सांसद बजगाईँले कांग्रेस नेता घुस रकम पठाउन मन्त्री पाण्डेले निर्देशन गरेको आरोप लगाएका छन्। 

‘मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्यो। उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो। मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ। यो झुट हो किनभने सभापति, गृह, परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं, सांसद बजगाईँले लेखेका छन्।  

कात्तिक २७, २०८१ मंगलबार १७:२१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।