२० वर्षअघि चक्रे मिलनको हात छिनालेका मनाङे ३२ महिनाको लागि डिल्लीबजार कारागार गए
काठमाडौं : सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई डिल्लीबजार कारागारमा राखिने भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सादा पोशाकको टोलीले मनाङेलाई बिहान स्वयम्भू, सानोभार्याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ परेका उनलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा पेस गरिएको थियो।
कात्तिक २० मा सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मंगलबार गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो। सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो।
विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो।
पाँच वर्ष कैद सजाय सदर भएकोमा उनी २८ महिना कैद बसिसकेकाले अब ३२ महिना जेलमा बस्ने छन्।
*मनाङे अब २२ महिना नभई ३२ महिना जेलमा बस्ने भएकाले सच्याइएको छ।
कात्तिक २७, २०८१ मंगलबार १६:५३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।