आपराधिक दुनियाँमा कुख्यात मनाङे : न वैवाहिक जीवनमा सफल रहे न त राजनीतिमा नै

आपराधिक दुनियाँमा कुख्यात मनाङे : न वैवाहिक जीवनमा सफल रहे न त राजनीतिमा नै

काठमाडौं : ठमेललाई आधार क्षेत्र बनाउँदै शुरू गरेको गुण्डागर्दीबाट ४० वर्षमा प्रदेश सांसदहुँदै पटक-पटक मन्त्री भए राजिव गुरुङ, उर्फ दीपक मनाङे। तर, मन्त्री भए पनि उनको जेल यात्रामा पूर्ण विराम भने लाग्न सकेन।

२० वर्ष पुरानो हत्या प्रयासमा उच्च अदालत पाटनले तोकेको पाँच वर्षको कैद सजायलाई सर्वोच्च अदालतलेसमेत सदर गरेपछि फरार रहेका उनी अन्तमा काठमाडौँबाट पक्राउ परे मंगलबार।

सितापाइलामा रहेको कम्फर्ट हाउजिङमा लुकेर बसेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खोजेर निकाल्यो। अर्का गुण्डा नाइके मिलन गुरुङ भनिने चक्रे मिलनलाई धारिलो हतियार प्रहार गरेर हत्या प्रयास गरेकोमा अब उनी ३२ महिना डिल्लीबजार कारागारमा बस्ने छन्।

श्रीमती नै चार जना 
४७ वर्षका मनाङेको सक्कली नाम हो, राजिव गुरुङ। तर, उनी दीपक गुरुङ अनि दीपक मनाङेको नामले बढी परिचित छन्। शैक्षिक योग्यता १० कक्षा पास रहेका उनको स्थायी ठेगाना मनाङ भए पनि हुर्किएको छत्रपाटीको धोबिचौरमा हो। अहिले उनी काठमाडौँकै पकनाजोलमा बस्छन्।

काठमाडौँको अपराध नगरीमा आफ्नो प्रभाव बढाउन मनाङे जति सफल भए पारिवारिक जीवनमा भने उत्तिकै असफल। उनले चार जनासँग त विवाह मात्र गरे। तर, कसैसँग पनि वैवाहिक सम्बन्ध भने टिकेन।

पासाङ डोमाहुँदै अगाडि बढेको उनको वैवाहिक यात्रामा तीन वटा डिभोर्स नै भयो। कान्छी श्रीमती छिदेन डोल्मा लामालाई त मनाङे आफैँले चोरीको जाहेरीमा पक्राउ गराएका थिए। २०७७ मंसिर ११ मा छिदेन चाँदीका आठ वटा अंखोरा र पाँच वटा बुद्ध मूर्ति चोरेको आरोपमा मकवानपुरमा समातिएकी थिइन्।

मनाङे परिवारमा साइलो सन्तान। उनको जेठो दाजु पनि गुण्डागर्दीमा संलग्न थिए। उनको मृत्यु भइसक्यो। उनका दुई भाइमध्ये एक जनाको मृत्यु भइसकेको छ भने कान्छो भाइ रेष्टुरेण्ट ब्यवसायमा संलग्न थिए। उनी पनि पक्राउ परिरहन्छन्।

टोले गुण्डादेखि मन्त्रीसम्म
प्रहरी रेकर्ड अनुसार मनाङेको हाइट ५ फुट ६ इन्च हो। अनि उनको पहिचान गर्ने अर्को चिन्ह हो, बांया कन्चटमा काटेको खत।

ठमेलमा संचालन हुने होटल, रेष्टुरेण्ट, डान्सबार, ट्राभल्स एजेन्सी, कार्गो अनि सुपरमार्केटमा प्रभाव पारेर हप्ता असुल्दै अगाडि बढेको मनाङेको अपराध यात्रा २० वर्षको दौरान अर्थात् २०६० पछि भने संगठित र प्रभावशाली बन्यो। त्यसैको आडमा ठमेललगायतका क्षेत्रमा राज गरेका उनको यो प्रभाव २०७० सम्मै कायम रह्यो।
 
जब प्रहरीले गुण्डागर्दीमा संलग्नहरूविरूद्ध कठोर नीति लिँदै इन्काउन्टर शुरू गर्यो, मनाङे राजनीतिमा लागे। उनी संघीय लोकतान्त्रिक पार्टीको केन्द्रीय उपाध्यक्ष भएका थिए। तर, आफ्नै पार्टीका नेता कुटेको आरोपसम्म लाग्यो उनलाई। त्यसपछि मधेशवादी दलहुँदै उनी पुरानै पार्टी राप्रपामा गए। 

राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि उनी मनाङको जिल्ला अध्यक्ष भए। २०७४ असोजमा उनी एमालेमा प्रवेश गरे। शुरूमा एमालेबाट प्रदेश सांसदमा सिफारिसमा परे पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बने। एमालेले समर्थन गरेर उम्मेदवारी दिएन। उनी मनाङको प्रदेश 'ख' बाट १ हजार ४ सय १० मतका साथ विजयी भए। 

२०७९ को निर्वाचनमा पनि उनी पुरानै क्षेत्रबाट उम्मेदवार बने। उनीविरूद्ध कुनै दलले उम्मेदवारी दिएन र निर्विरोध सांसद भए।

केन्द्रमा माओवादी-एमाले, माओवादी-कांग्रेस, माओवादी-एमालेहुँदै कांग्रेस र एमालेको सरकार बन्यो। केन्द्रसँगै प्रदेशमा पनि सरकार बदलिँदा मनाङे कसको नेतृत्वमा सरकार बनाउने भन्ने किङ मेकर भए। त्यसले दोस्रो चरणको संसद यात्रामा उनी एक पटक हैन, पटक-पटक मन्त्री बने। 

तर, कर्मको फल त पाउनै पर्यो। उनी सांसद रहेको अवस्थामा हत्या प्रयासमा अदालतबाट तोकिएको कैद सजाय भुक्तान गर्न पुन: पक्राउ परेर कारागार चलान भए।

१४ करोड अबैध कमाई तर, भएन पुष्टि
होटल, रेष्टुरेण्ट, ट्राभल्स एजेन्सीदेखि क्रसरसम्म चलाए मनाङेले। फिल्म निर्माणसमेत गर्छन् उनी। तर, प्रहरी रेकर्डमा भने यी सबै आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति व्यवस्थापनका लागि बनाएको आवरण भएको उल्लेख छ।

प्रहरी अनुसन्धानमा मनाङेको ठमेलस्थित सेफ स्टार होटल र सो होटलको जग्गामा ५६ करोड लगानी रहेको उल्लेख छ।

नुवाकोटको ककनीमा ७८ रोपनी जग्गा, फेवा दोहरी ठमेल, गामबेसी दोहोरी ठमेल, पोखरा दोहोरी ठमेल र गोगो बार ठमेलमा लगानी, विरगंज ट्रान्सपोर्ट र ट्राभल एजेन्सीमा लगानी रहेको प्रहरी रेकर्डमा देखिन्छ।

उनको सम्पत्तिबारे सिआइबीले अनुसन्धानसमेत गरेको थियो। सिआइबीको अनुसन्धानमा मनाङेको १४ करोड ७३ लाख सम्पत्ति अबैध देखियो। त्यही आधारमा सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर गर्यो।

अभियोगपत्रमा मनाङेकी श्रीमतीको नाममा काठमाडौंमा करिब ३ रोपनी जग्गा र घर, नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा, गोसाइँकुण्ड क्रसर, ओम मल्टिपर्पोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगा-रोडामा गरी करिब ५० लाखको शेयर रहेको उल्लेख थियो।

२०७४ भदौ ४ मा विशेषले फैसला गर्दा मनाङेको सम्पत्ति जोडिएको समय सम्पत्ति शुद्धीकरण कानुन आउनुभन्दा अगाडिको देखिएको र डिभोर्स भएकी श्रीमतीको सम्पत्ति पनि मनाङेकोमा जोडेको भनेर सफाई दियो।

पक्राउ पर्दै छुट्दै गरेका मनाङे
उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेको मनाङेको क्राइम प्रोफाइल हेर्ने हो भने मनाङे २०५९ सालबाटै पक्राउ पर्न थालेको देखिन्छ। त्यो भन्दा अगाडि पक्राउ परेको रेकर्ड भने छैन। यो क्रम सांसद भइसक्दा २०८१ सम्मै कायम रह्यो।

प्रहरीको रेकर्ड अनुसार उनी पहिलो पटक २०५९ भदौमा धनमाल डाँका मुद्दामा पक्राउ परेका थिए। उनी २०६० पुस ११ मा पक्राउ परे। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। आरोप थियो, ठमेलमा होहल्ला गरी हिँडेको।

दोस्रो पटक, २०६१ चैत १८ मा उनी मिलन गुरुङ भन्ने चक्रे मिलनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ परेर जेलै पुगे। २०६३ फागुनमा गोली हानेर हत्या प्रयास गरेको आरोपमा पुन समातिए।

२०६५ फागुन १ मा उनी सार्वजनिक अपराधको आरोपमा पक्राउ परेर मुद्दा नै चलेको थियो। २०६८ जेठमा उनी कुटपिटको आरोपमा समातिए। २०६९ चैतमा उनलाई ठगीको आरोप लाग्यो। २०७० मै उनी नेपाली सेनाका एक मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेर १ वर्ष ६ महिना जेल पुगे।

२०७० जेठ ५ मा अवैध सम्पत्तिको अभियोगमा समातिए उनी। यसमा धरौटी निस्किए लगत्तै २०७० चैत १४ मा पुन: सार्वजनिक अपराध गरेको आरोपमा काठमाडौँमा समातिए। ०७३ असारमा उनीमाथि संगठित अपराधको आरोप लाग्यो र समातिए।

०७४ वैशाखमा उनी सार्वजनिक अपराधको आरोपमा समातिए। आरोप चैँ स्थानीय तहको निर्वाचनमा सुरक्षा खतरा। २०७५ माघ ३ मा चक्रे मिलनको हत्या प्रयासको अभियोगमा ३२ महिना कैद बस्न बाँकी रहेको खुलेपछि उनी पुन पक्राउ परेका थिए।

प्रदेश सांसद भएपछि पनि उनको अपराधसँग जोडिनेक्रम जारी नै रह्यो। २०७६ माघमा एन्फा पोखराका अध्यक्ष मिलन गुरुङलाई कुटेको आरोपमा पक्राउ परे। उनी ६ हजार धरौटीमा दुई दिनमै रिहा भएका थिए। 

अब २०८१ कात्तिक २७ मा उनै मनाङे हत्या प्रयासमा भएको बाँकी जेल सजायका लागि पक्राउ परेर ३२ महिनाका लागि डिल्लीबजार जेल चलान भए।  

*मनाङे अब २२ महिना नभई ३२ महिना जेलमा बस्ने भएकाले सच्याइएको छ।

कात्तिक २७, २०८१ मंगलबार १७:५३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।