मधु श्रेष्ठको मन्त्रालय टुंगो लगाउन बागमतीका मुख्यमन्त्री लामाले मन्त्रालय फुटाए
मकवानपुर : बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ। आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई फुटाएर सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो।
बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या बढाएको हो।
नेपाली कांग्रेस र एमालेको केन्द्रीय सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका लामामाथि मन्त्रालय फुटाएर भागबन्डा पुर्याउन गठबन्धन दलहरूबाट दबाब रहँदै आएको थियो।
यससँगै प्रदेशमा मन्त्रालयको कुल सङ्ख्या १४ पुगेको छ।
विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए। श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
उनले गत साउन ९ मा विना विभागीय मन्त्रीको शपथ लिएकी हुन्।
कात्तिक २७, २०८१ मंगलबार १५:२८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।