पक्राउ परेका दीपक मनाङेलाई अदालतमा पेस गरियो

पक्राउ परेका दीपक मनाङेलाई अदालतमा पेस गरियो

काठमाडौं : ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। 

आज बिहान काठमाडौंको सानो भर्याङबाट पक्राउ परेका उनलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए। 

उनका अनुसार सर्वोच्च अदालतले यही कात्तिक २० मा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै सिआबीको टोलीले मनाङेलाई पक्राउ गरेको हो। त्यसपछि अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता बोगटीले बताए। 

मिलन गुरुङ उर्फ चक्रे मिलनलाई धारिलो हतियारले हानेर मार्ने प्रयास गरेको घटनाको २० वर्षपछि उनी दोस्रोपटक पक्राउ परेर अब जेल चलान हुनेछन्।

पाँच वर्ष कैद सजाय सदर भएकोमा उनी २८ महिना कैद बसिसकेकाले अब २२ महिना जेलमा बस्ने छन्। 

कात्तिक २७, २०८१ मंगलबार १४:४९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।