राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प-पुटिनबीच पहिलो टेलिफोन वार्ता, अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोक्ने

काठमाडौं : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्।
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि पहिलो पटक वार्ता भएको वाशिंगटन पोस्टले जनाएको छ। वार्तामा ट्रम्पले युक्रेन युद्धलाई थप नचर्काउन आग्रह गर्दै युरोपमा शान्ति स्थापना गर्ने विषयमा छलफल गरेका थिए।
ट्रम्पले यो वार्तामा रुसले युक्रेनमा कब्जा गरेका भूभागको विषय पनि उठाएको जनाइएको छ।
तर, ट्रम्पले यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्। उनले आफ्नो कार्यकालमा युद्धलाई थप बिग्रन नदिने इच्छा व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युक्रेन सरकारलाई पनि ट्रम्प–पुटिनको यस वार्ताको जानकारी दिइएको छ।
ट्रम्पले आफूले युक्रेन युद्धलाई छिट्टै समाधान गर्ने बताउँदै आए पनि कसरी शान्ति स्थापना गर्ने भन्ने ठोस योजना भने सार्वजनिक गरेका छैनन्। उनले युक्रेनलाई सैन्य सहायता भने रोक्ने संकेत गरेका छन्।
वर्तमान राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई अर्बौँ डलरको सैन्य सहायता दिएको छ। ट्रम्पका अभियान अधिकारी ब्रायन लान्जाले भने ‘शान्ति प्राप्त गर्न युक्रेनले केही भूभाग छोड्नुपर्ने हुन सक्छ।’ तर, ट्रम्पका प्रवक्ताले भने यो कुरा ब्रायन लान्जाको व्यक्तिगत धारणा रहेको र ट्रम्पको आधिकारिक धारणा नभएको प्रस्ट पारे।
रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको शान्तिको प्रस्तावलाई सकारात्मक संकेतको रूपमा लिएको बताएका छन्। उनका अनुसार, ट्रम्पले सम्झौतामा विश्वास गर्ने र शान्तिको लागि पहल गर्न चाहने कुरा गरेका छन्।
त्यसअघि ट्रम्पले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग पनि फोनमा वार्ता गरेका छन्। उक्त वार्तामा दुबै नेताहरूले युरोपमा शान्ति फर्काउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो।
कात्तिक २७, २०८१ मंगलबार १४:३३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।