भिजिबिलिटी खुलेसँगै भैरहवा पुर्याइयो रविलाई, रास्वपाको काउन्टरमा सहकारी पीडित पनि प्रदर्शनमा

भिजिबिलिटी खुलेसँगै भैरहवा पुर्याइयो रविलाई, रास्वपाको काउन्टरमा सहकारी पीडित पनि प्रदर्शनमा

बुटवल : सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एव पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही पूर्याइएको छ। कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई मङ्गलवार बिहान बुद्ध एयरबाट रुपन्देहीमा बयानका लागि लैजान खोज्दा भिजिबिलिटीका कारण समस्या भएको थियो। भैरहवाको भिजिबिलिटी समस्या समाधान भएपछि प्रहरीले उनलाई भैरहवा पूर्याएको हो।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रविलाई रुपन्देही ल्याइएको हो।

रविलाई विमान मार्फत सवा १२ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा झारिएको थियो। वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो। विमानस्थल वरपर रास्वपाका कार्यकर्ता ठुलो सङ्ख्यामा उपस्थित भएर विरोध प्रदर्शन गरेका थिए। भैरहवाकै बुद्ध चोक वरपर पनि रास्वपा कार्यकर्ताहरूको उपस्थिति बाक्लो छ।

रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकले राजनीतिक प्रतिशोधका कारण रविलाई फसाइएको भन्दै त्यसको विरोध गरिएको बताए। उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरूले पनि भैरहवामै प्रदर्शनको तयारीका लागि पुगेका छन्।

सहकारी पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालले सहकारीको रकम अपचलनमा संलग्नमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिने बताए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जितसिंह राठौरले लामिछानेलाई सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिने बताए।

रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो।

सहकारी ठगीको आरोपमा पक्राउ परेको गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई कात्तिक ५ र ६ गते अनुसन्धान गरी पुनः पोखरा नै पठाइएको छ।

२५ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई गत आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको छ।

 बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा २ करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, जोशी र लामिछाने सहित जीवी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

लामिछाने उक्त रकम सहकारीबाट २०७७ चैत १८ ऋण लिएको अनुसन्धानबाट खुलेको छ। २ करोड मध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन्। लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन्। गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन्।

केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोर्खा मिडिया नेटवर्कको नाममा रहेको बैङ्क खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ। रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन्।

ऋण लैजाने क्रममा लामिछाने गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।  त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष बन्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ।

उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ।

लामिछाने र बन्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमइ बैङ्कको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालयले यस अघि गरेको छानबिनमा सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक गितेन्द्रबाबु राई (जीवी), भूपेन्द्रबाबु राई, छविलाल जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे, रोशनी गुरुङ सहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको थियो।

तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन्। पूर्वअध्यक्ष राईसहित अन्य व्यक्ति फरार छन्।

कात्तिक २७, २०८१ मंगलबार १२:५४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।