सितापाइलाको कम्फर्ट हाउजिङमा भेटिए मनाङे, आजै जेल चलान हुने

सितापाइलाको कम्फर्ट हाउजिङमा भेटिए मनाङे, आजै जेल चलान हुने

काठमाडौँ : चक्रे मिलनको हत्या अभियोगमा सर्वोच्चबाट उच्च अदालतले तोकेको पाँच वर्ष कैद सजाय सदर भएसँगै भूमिगत भएका दीपक मनाङे काठमाडौँको सितापाइलामा भेटिए।

अदालतको पूर्ण पाठ आएपछि आफैँ अदालत जाने भन्दै लुकेर बसेका उनी काठमाडौँको सितापाइलामा रहेको कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको हो।

ब्युरोका प्रमुख एआइजी दीपक थापाले मनाङे समातिएको पुष्टि गरे। पाँच वर्ष तोकिएको सजायमध्ये उनले २८ महिना भुक्तान गरिसकेको देखिएको र बाँकी ३२ महिना कैदमा बस्नुपर्ने देखिए पछि उनलाई समातेको थापाले बताए।

बाँकी कैद भुक्तानका लागि उनलाई आजै अदालत बुझाउने उनले बताए।

गण्डकी प्रदेशका सांसद समेत रहेका उनीमाथि २०६१ मा चक्रे मिलनको हत्या प्रयास गरेको आरोप लागेको थियो। घटनामा चक्रेको हात काटिएको थियो। जिल्ला अदालतले दुई वर्ष कैद तोकेको थियो। उच्चले जिल्लाको सजाय उल्टाएर पाँच वर्ष कैद तोके पनि उनी कारागार गएनन्।

उनी २०७४ मा पहिलो पटक प्रदेश सांसद भएपछि उनी कैद भुक्तान गर्न बाँकी रहेका दोषी रहेको सार्वजनिक भएपछि फरार भए। काठमाडौँको स्वयम्भूमा समातिएपछि कारागार पुगे।

सर्वोच्चले बाहिरै बसेर मुद्दाको पुनरावलोकन गर्न अनुमति दिएपछि रिहा भएका उनी पुन दोस्रो पटक सांसद र पटक पटक मन्त्री भएका थिए।

*मनाङे अब २२ महिना नभई ३२ महिना जेलमा बस्ने भएकाले सच्याइएको छ।

कात्तिक २७, २०८१ मंगलबार ११:२२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।