हावा भर्नेक्रममा टायर पड्कँदा एक जनाको मृत्यु, पाँच जना घाइते

हावा भर्नेक्रममा टायर पड्कँदा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ : टायर मर्मत गर्नेक्रममा पड्कँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भए। मकवानपुरको हेटौँडा उपमहानगरपालिका थाना भर्याङमा ट्याङ्करको टायर पड्किएर एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाजको मृत्यु भएको हो। उनी हेटौँडा टायर मर्मत पसलका सञ्चालक हुन्।

गए राति करिब एक बजे मधेस प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्याङ्करको टायर हावा भर्ने क्रममा पड्किएको थियो। मोहम्मदको टाउकोमा गम्भीर चोट लागेको थियो। उनको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यही घटनामा परेर टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौँडा–११ का ३९ वर्षीय देवान लामा, हेटौँडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भए।

कात्तिक २७, २०८१ मंगलबार १०:२७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।