बुढानीलकण्ठको दर्शन गरे चार नारायण बराबर हुने धार्मिक विश्वासले बिहानैबाट दर्शनार्थीको चाप
काठमाडौँ : हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्मका चार महिना विष्णुका भक्तहरूका लागि विशेष दिन। यो चार महिना विष्णुका भक्तहरू तुलसीको व्रत बस्छन् अनि विशेष पूजा गर्छन्।
आज काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्कुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायण स्थानमा विशेष मेला समेत लाग्छ। काठमाडौँको बुढानिलकण्ढमा पनि दर्शनार्थीहरुको भिडभाड छ।
काठमाडौँको उत्तरमा रहेका बुढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वासका कारण बुढानिलकण्ढमा बिहानैबाट दर्शनार्थीहरु पुगेका छन्।
यही चार महिनाकोबीचमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको प्रतीकका रूप मानेर तुलसीको दामोदरसँग विवाह गराएर विशेष पूजा गरिन्छ। हरिबोधिनी एकादशी भनिने त्यो दिन आजै हो।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिने धार्मिक मान्यता रहेको छ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।
तस्बिर : हरिराम भेटुवाल / रासस
कात्तिक २७, २०८१ मंगलबार ०९:४७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।