आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरी मनाइँदै

आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरी मनाइँदै

काठमाडौँ : आज मङ्गलवार हरिबोधनी एकादशी। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मङ्गलवार दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ।

एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने हरिबोधिनी एकादशी  प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने गरिन्छ।

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्छन् भन्ने छ। हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ। वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फुलमालाले सजाएर आज विवाह गरिने प्रचलन पनि रहेको छ ।

कात्तिक २६, २०८१ मंगलबार ०८:४७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।