राजेश हमालदेखि अनमोल केसीसम्मलाई सिँगारेका श्यामको यात्रा, मेकअपबाहेक जे मा हात हाले डुबे
धनुषा जिल्लाको लालगढमा २०२४ साल चैत्र २८ मा जन्मिएका श्याम बराल पेसाले मेकअप आर्टिस्ट हुन्। मध्यम परिवारमा जन्मिएका श्यामको पाँच दाजुभाइमा उनी जेठो छोरा। हाल उमेरले ५७ वर्ष लागिसकेका उनले ३१ वर्ष विभिन्न नायक-नायिकालाई सिँगारी सकेका छन्।
२०४८ सालमा गाउँकै सुवास गजुरेल, जो कलाकारिता क्षेत्रमा लागेका थिए उनी उनैको पछि लागेर काठमाडौँ आए।
घरको जेठोबाठो छोरा भएको र परिवारको आर्थिक अवस्था राम्रो नभएकोले उनले एसएलसीपछि भने पढ्न पाएनन्। घरको जिम्मेवारीको कारणले उनलाई काठमाडौँसम्म ल्यायो। पढ्नलाई आर्थिक अवस्थाले छेकेन उनलाई। तर जिम्मेवारीको कारण पढ्न सकेनन्।
‘घरबाट पढ् त भनेका थिए तर अलिकति घरको आर्थिक अवस्था पनि राम्रो थिएन। घरको जिम्मेवारी पनि बोक्नु पर्ने भयो। हुन त पढ्नलाई आर्थिक अवस्थाले नै रोक्ने कुरा होइन,’ उनी भन्छन्, ‘तर पनि अलि छिटो आफू कुनै पेसा समाउन पाएदेखि आत्मनिर्भर हुन्छ भन्ने सोच लागेर यो फिल्डमा आएको हो।’
करिब अहिलेसम्म आइपुग्दा श्याम बरालले कति सिनेमामा काम गरे भन्ने यकिन तथ्याङ्क भने छैन।
पहिला-पहिला कपिमै टिपेर राख्ने गरेको भए पनि पछिल्लो दिनमा भने टिप्नै छोडिदिए। तर पनि करिब डेढ सय भन्दा बढी फिल्म सेटमा नायक/नायिका सिँगारेको सम्झना छ उनलाई।
बरालले राजेश हमालको मामा दीपक रायमाझीदेखि शिव रेग्मीसम्मको फिल्मको सेटमा रहेका नायक/नायिकाहरूलाई सिँगारी सकेका छन्। अनुभवकै कारणले अहिले पनि धेरै फिल्ममा अफर आउने गरेको बताउँछन् उनी।
अनि फोटोग्राफी छोडेर मेकअपतिर लागे
२०४८ सालमा सुवास गजुरेलसँगै काठमाडौँ आउँदा फोटोग्राफीको सिलसिलामा छिरेको थिए उनी। सुरुवाती दिनमा काठमाडौँ आएपछि फोटोग्राफीकै सिलसिलामा छिर्दा सिनेमामा काम गर्ने इच्छा जाग्यो उनलाई।
क्यामराकै काममा छिर्दा धेरै समस्या देखे उनले। पहिलो त क्यामराको काम गर्दा सहायकको रूपमा काम गर्नुपर्ने रहेछ। तर उनलाई आफैले नेतृत्व गर्ने काम गर्न मन लाग्यो।
‘एउटा हामीजस्ता त्यो फिल्डमा छिरेर, त्यो ठाउँमा पुग्न १०, १५ वर्ष नै गुर्जानुपर्थ्यो। सहायक भएर काम गर्न १०, १५ वर्ष नै गुर्जानुपरेपछि जहाँ भए पनि लिड गर्न पाए हुन्थ्यो भन्ने लाग्यो’ उनले भने।
मेकअप आर्टिष्टमा भने उनलाई सुवास गजुरेलले नै बाटो देखाइदिए। सुरुमै फोटोग्राफीमा काम गरिसकेकोले पनि मेकअप आर्टिष्टमा भिज्न उनलाई सहज भयो।
श्यामलाई मेकअप क्षेत्रमा फोटोग्राफी भन्दा सहज अनुभव भयो। त्यसपछि हो उनले मेकअपमा आफ्नो हात बसाएको।
‘त्यतिबेला फोटोको काम गर्दा कलरको टोनहरू थाहा थियो,’ उनी भन्छन् ‘मलाई सिनेमामा काम गर्दा मेकअप, कलर टोनहरूको पनि राम्रो ज्ञान भएकोले मेकअप आर्टिष्टको काम गर्न सजिलो भयो।’
पहिलो तलब २ हजार
श्यामले सुरुवाती दिनमा तलब नलिई काम सुरु गरे। उनलाई काममा हात बसाउनु थियो। तलब भन्दा पनि कामै पाउन समस्या थियो। मेकअप गरेर उनले पाएको पहिलो कमाई २ हजार रहेछ। त्यो बेलामा उनी सहयोगी थिए।
२०५० सालमा पुरै फिल्मका कलाकारको मेकअप गर्ने जिम्मेवारी पाए। त्यो बेलामा ३ हजार पाए। तर काठमाडौँमा ३ हजारले के नै पुग्थ्यो र! जीवन निर्वाह गर्नकै लागि श्यामले अरू साथीहरूसँग सरसापट गरेरै भए पनि काममा टिक्न खोजे।
कैयौँ पटक दाल-चामल गाउँबाट ओसारेर काम चलाए उनले।
पहिला र अहिले
मेकअप आर्टिस्टको फिल्डमा श्याम बरालले लामो समय पार गरिसकेका छन्। त्यही अनुभवको आधारमा अहिले सहज छ उनको जीवन। तर एक अर्काको सम्मान भने घटेको अनुभव रहेछ।
उनले सुरुवाती दिनमा काम गर्दा टेक्निसियनको भ्यालु, इज्जत धेरै थियो। त्यतिबेला टेक्निसियनको ज्यादा महत्त्व हुन्थ्यो।
पहिला निर्देशक सेटमा आउँदा उसलाई बस्नको लागि कुर्सी छोड्नु पर्थ्यो। हल्ला नगरी सभ्य भएर बस्नुपर्थ्यो। तर अहिले निर्देशक सेटमा आउँदा नमस्कार समेत नफर्काएको धेरै देखेका छन् उनले।
‘पहिला टेक्निसियनको भ्यालु, इज्जत धेरै गरिन्थ्यो। त्यतिबेला टेक्निसियनको ज्यादा महत्त्व थियो। डाइरेक्टर सेटमा आउँदा उसलाई बस्नको लागि कुर्सी छोड्नु पर्थ्यो। तर अहिले त नमस्कार पनि गर्दैनन्।’
नयाँ आएका आर्टिष्टहरुले संस्कार भुलेको हो कि जस्तो लाग्ने रहेछ उनलाई।
‘अहिलेको अवस्था कसरी आयो नै भन्न सकिने अवस्था छैन। अहिलेकाले संस्कार बिर्सिँदै गएका हुन् कि भन्ने लाग्छ,’ उनी अलि भावुक सुनिए ‘उतीबेला निकै इज्जत गरिन्थ्यो। खै अहिले त के भएको हो?’
तर अन्य पेसा फापेन
दिक्क नलाग्ने हैन, तर श्याम अहिलेसम्म पूर्णकालिन मेकअप आर्टिष्ट बाहेक अन्य पेसामा सिफ्ट भएनन्। साइड बिजनेस नगरेका होइनन्। तर जति गरे, सबै डुबे
भूकम्प भन्दा ६ महिना अघि मात्रै काठमाडौँमै कफीसप खोलेका थिए। केही जोगिएको रकम कफीसपमा लगानी गरे। तर खोलेको ६ महिनापछि भूकम्प आयो। केही महिना त बन्द नै गरेर बसे। २ महिना पछि खोले पनि टोलमा मान्छे नै भएन। अनि बन्द गरिदिए।
‘काठमाडौँमा भूकम्पले भागाभाग भयो। २ महिनापछि कफीसप खोलेको त टोलमा मान्छे नै छैनन्। सबै गाउँ गएपछि कसरी मान्छे होउन् त? मान्छे नै नभएपछि बन्द गरिदिए’ उनले भने।
एक ठाउँबाट व्यापार बिग्रे पनि उनले अर्को साइड बिजनेसमा हात हाले। पहिला कोभिडको कारणले बिग्रेको व्यवहार सुर्धान भन्दै भैसेपाटीमा फार्म हाउस खोले।
१० रोपनी जग्गा लिजमा लिएर सुरु गरेको काम राम्रो चलेको थियो। २-३ लट माछा, सागसब्जीबाट राम्रो आम्दानी पनि भएको रहेछ। तर श्याम देशका विभिन्न ठाउँमा जानुपर्ने भएपछि फार्म हाउस डामाडोल भयो।
भएछ के भने, उनी चितवनमा फिल्मको निर्माण टोलीसँगै गएको बेलामा आफूलाई विश्वास लागेकालाई फार्म हाउस छोडेर गए।
तर फर्किदा त काम गर्ने मान्छेले सबै सागसब्जी, पशुपन्छी, माछा बेचेर भागेछ। धेरै पटक कल गरे । तर सधैँ फोन अफ। अनि छोडिदिए।
‘म चितवन गएको बेला त्यहाँ काम गर्नेले सबै बेचेर हिँडेछ। उसलाई फोन गरेको मोबाइल नै अफ गरेर भाग्यो। मैले उसलाई दोहोर्याएर खोजिन पनि मेरो गल्ती थियो नि त। आफू नबस्ने भएपछि त मेरो गल्ती भयो, त्यसपछि त्यो काम पनि बन्द गरेँ। ७ लाख जति घाटा भयो।’
२ वटा फरक व्यापार बिग्रेपछि एक साथीसँग मिलेर ‘ठुलो मेकअप स्टुडियो’ नामक आफैले गरिरहेको काममा हात हाले।
तर खोलेको १ महिना नबित्दै लकडाउन भयो। त्यो स्टुडियो खोल्दा ३५ लाख लगानी लगाएका थिए। त्यो पनि डुब्यो।
‘६ महिना लगातार बन्द भयो। ६ महिनापछि जाँदा घर भाडा तिर्नु परिहाल्यो। स्टाफहरूलाई पनि दिनु परिहाल्यो। पछि १० लाख बढी खर्च लाग्ने भएपछि त्यो काम पनि बन्द गरेँ’ उनले भने।
अहिले आफ्नै हातले कुनै लगानी लगाएका छैनन्। उनकी श्रीमतीले अनामनगरमा गर्ल्स होस्टेल चलाएकी छिन्। काठमाडौँमा हुँदा उनी त्यही होस्टेलको काममा सहयोग गर्छन्। काम आएको खण्डमा हिँडिहाल्छन्।
दुई सन्तानमध्ये छोरा विदेश जाने तयारीमा छन् भने, छोरी सानै छिन्।
‘हाम्रो बौद्धिक काम हो। त्यसैले यति वर्षसम्म काम गर्छु भन्ने सोचेको छैन। छोरा मास्टर्स पढ्न युके जाँदै छ। जिम्मेवारी कम हुँदै छ। तर थला नपरेसम्म काम गर्छु’ उनले योजना सुनाए।
कात्तिक २६, २०८१ मंगलबार ०८:१६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।