लेबनानको राजधानीमा इजरायली आक्रमण, आइतबार मात्र सात बालबालिकासहित २३ जनाको मृत्यु
एजेन्सी : लेबनानको राजधानी बेरुतको उत्तरमा रहेको बायब्लोस नजिकैको अल्माटमा आइतबार भएको इजरायली आक्रमणमा सात बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या बारे जानकारी दिएको छ।
उत्तरी लेबनान र गाजाका उद्धारकर्मी तथा अधिकारीहरूले यस क्षेत्रमा हालसम्म इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या दर्जनौं हुनसक्ने बताएका छन्।
गाजाको सिभिल डिफेन्स एजेन्सीले दुई घरमा इजरायली आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ।
एजेन्सीका अनुसार आइतबार बिहान भएको पहिलो आक्रमण जबलियाको एउटा घरमा भएको थियो, जसमा १३ बालबालिकासहित ‘कम्तीमा २५’ व्यक्तिको मृत्यु भएका थिए। जसमा ३० जना घाइते भएका थिए।
इजरायली रक्षा बल (आईडीएफ)ले यी आक्रमणहरूमा लेबनानमा लक्षित स्थान हिजबुल्लाहको रहेको बताएको छ। त्यहाँ हतियार भण्डार गरिएको थियो र हिजबुल्लाह लडाकुहरू त्यहाँबाट सञ्चालन गरिरहेका थिए।
आईडीएफले हवाई निगरानी र सही गुप्तचरको प्रयोग सहित नागरिकलाई हानी पुग्ने जोखिम कम गर्नका लागि धेरै उपायहरू अपनाइएको बताएको छ।
उसले विज्ञप्तिमा भनेको छ, ‘हामीले जबलियामा आतंकवादीहरू सक्रिय रहेको स्थानमा आक्रमण गर्यौं। आक्रमणमा सर्वसाधारणको हानी न्यूनीकरण गर्न कदम चालिएको थियो।’
हालैका दिनहरूमा इजरायलले इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्धको अभियानलाई तीव्र पारेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै शनिबार इजरायली हमलामा दक्षिणमा २८ र बालबेकमा १७ जनासहित ५३ जनाको ज्यान गएको बताएको छ।
कात्तिक २६, २०८१ सोमबार ०८:४८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।