ठेलामा सातु बेचेर मासिक ५० हजार आम्दानी

ठेलामा सातु बेचेर मासिक ५० हजार आम्दानी

इनरुवा : सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन्।

ठेलामा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती हुन्छ। उनको ठेला देख्नेबित्तिकै सातु पिउने मानिसको भीड हुन्छ।

उनले भने, ‘ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन्। सातु बिक्री गरेर मासिकरुपमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ।’

गर्मीयामका बेलामा एक लाख मासिक कमाउने गरेको र चिसोको बेलामा अलि कम आम्दानी हुने गरेको उनको भनाइ छ।

चिसोका बेलामा दैनिक रुपमा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए।

उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन्। उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए।

दैनिक रुपमा सामग्री महगिँदै गएका बेलामा प्रति गिलास सातुको ४० लिने गरेको उनको भनाइ छ। दैनिक रुपमा चार हजारदेखि पाँच हजार रुपैयाँसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रूपमा ५० हजारदेखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पौदारले बताए।

सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनले बताए। आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उनले बताए।

एक लाखदेखि दुई लाख खर्च गरेर विदेशमा गएर ४० देखि ५० हजार रुपैयाँ आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको उनको भनाइ छ।

उनले भने, ‘स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन।’

राससमा प्रकाशित समाचार सम्पादन गरी प्रकाशित

कात्तिक २६, २०८१ सोमबार ०७:३४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।