सिरहा कारागारभित्रै रक्सी खानेदेखि लागूऔषधको​​​​​​​ कारोबार गर्ने गरेको सम्बन्धमा छानबिन समिति गठन

सिरहा कारागारभित्रै रक्सी खानेदेखि लागूऔषधको​​​​​​​ कारोबार गर्ने गरेको सम्बन्धमा छानबिन समिति गठन

सिरहा : सिरहा कारागारमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागूऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। 

डिएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए। उनका अनुसार समितिले सोमबारदेखि काम सुरू गर्नेछ। 

छानबिन समितिलाई १५ दिनभित्र जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाउने समय दिइएको छ। छानबिन समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढ्ने सीडीओ दाहालले बताए।  

केही दिनअघि कारागारभित्रै मूल नाइके र अन्य कैदीहरूले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। कारागारमा लागूऔषध उपलब्ध हुने गरेको तथ्य पनि खुलेको  थियो। 

यसअघि शनिबार कारागारमा सिरहाका सीडीओ दाहालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतको उपस्थितिमा अनुगमन गरिएको थियो। त्यस अनुगमनका क्रममा कारागारमा सुर्ती, चुरोटलगायतका अवैध वस्तुहरू भेटिएको बताइएको छ।   
    
यस प्रकरणमा कारागार व्यवस्थापन विभागले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा नै निर्देशन दिएको थियो। 

कात्तिक २५, २०८१ आइतबार २१:३७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।