महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीमा अनियमितता र भ्रष्टाचार भएको छ : वरिष्ठ उपाध्यक्ष
काठमाडौं : अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएको बताएका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले टिकट बिक्रीमा अनियमितता र भ्रष्टाचार भएको बताए।
उनले भने, ‘हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएकोले अनियमितता र भ्रष्टाचार भएको मेरो बुझाई छ।’
उनले टिकट बिक्रीका लागि टेण्डर आव्हान गर्नु कार्यसमितिको निर्णय र एन्फाको विधान विपरीत भएको बताए।
यस्तो छ वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काको ठम्याई :
१. एन्फा कार्यसमितिको मिति २०६१ भाद्र ११ र १३ मा सम्पन्न बैठकको निर्णय नम्बर १६ मा साफ लगायत अन्य प्रतियोगिताको गेट टिकटको दर रेट निर्धारण तथा व्यवस्थापन गर्नको लागि एन्फा कार्यसमिति सदस्य पुरूषोत्तम थापाको संयोजकत्वमा विकास नारायण श्रेष्ठ, प्रविण यादव, सुरेश शाह र सजीव पाण्डे सम्मिलित ५ सदस्यीय समिति गठन गरिएको थियो।
२. ७ दिने सूचना नै प्रक्रिया विपरीत छ र ७ दिनमा पनि ५ दिन त पर्व बिदा नै छ। समयसीमा भित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नुपर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नु बदनियत देखिन्छ। टेण्डर दिई सकेको अवस्थामा पुनः अवैधानिक तवरले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शि र स्वार्थ प्रेरित देखिन्छ।
३. माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट प्रालिलाई जुन आरोप लगाएर सम्झौता रद्ध गर्ने निर्णय गरिएको छ, सोही काम एन्फाले दोहोर्याएको छ। फाइनलमा एन्फाले साधारणतर्फ १० हजार र भिआईपी तर्फ १००० टिकट बिक्री गर्ने निर्णय गरेको थियो त्यो आफैले उलङ्घन गरि भिआईपी तर्फ १०८२ साधारणतर्फ १० हजार १३५ टिकट बिक्री गरिएको छ। जुन तथ्य बिक्री टिकट नम्बरबाट प्रमाणित भएको देखिन्छ।
४. अध्यक्ष देश बाहिर रहेको अवस्थामा संघको विधानको धारा ३७ (६) ले म स्वतः कार्यवाहक अध्यक्ष हुने व्यवस्था गरेको छ। माथिको निर्णयले एन्फालाई करिब १ करोड ५० लाख क्षति पुगेको मेरो बुझाई छ। संस्थालाई क्षति पुग्ने गरी अवैध कार्यहरू गरि किन टेण्डर रद्ध गरियो, बढी टिकट बिक्री गर्नुको आशय के हो? एन्फामा टिकट बिक्री बापतको रकम जम्मा भयो भएन? यी सबै निर्णयहरू गैरकानुनी, प्रक्रिया विपरीत र अपारदर्शि भएकोले राज्यका निकायलाई छानबिनका लागि आव्हान गर्न चाहन्छु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यो विषयमा उजुरी परि सकेकोले गम्भिरतापूर्वक छानबिनका लागि सम्मानित अख्तियारको ध्यानाकर्षण गर्न चाहन्छु र अन्तमा, महिला साफ च्याम्पियनसिपबाट उठेको सम्पूर्ण रकम देशका लागि रगत पसिना बनाउने महिला खेलाडीहरूलाई दामासाहीले दिनु पर्दछ भनी जोडदार माग पनि गर्दछु।
कात्तिक २५, २०८१ आइतबार २०:१४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।