बंगलादेशमा अमेरिका विरोधी गतिविधि गरेको आरोपमा हसिनाको पार्टीका कार्यकर्ता पक्राउ
एजेन्सी : अमेरिका विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ गरिएको बंगलादेशको प्रहरीले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्लेकार्डसहित प्रदर्शन गर्न आदेश दिएपछि बंगलादेशका अपदस्थ पूर्व नेता शेख वाजेद हसिनाका समर्थकलाई पक्राउ गरिएको प्रहरीले आइतबार जनाएको हो।
पूर्वप्रधानमन्त्री शेख हसिना गत अगष्ट ५ मा हेलिकप्टरबाट भारत तर्फ भागेकी थिइन्।
त्यसयता नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा कामचलाउ सरकारले कार्यभार सम्हाल्दै आएको छ। यसलाई लोकतान्त्रिक सुधार कार्यान्वयन गर्ने र निर्वाचन गराउने जिम्मेवारी दिइएको छ।
प्रहरीले ‘देश विरोधी’को संज्ञा दिएको १० जना प्रदर्शनकारीलाई शनिबार राति पक्राउ गरेको थियो र करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशलाई अस्थिर बनाउने प्रयास गरेको आरोप लगाइएको थियो।
ढाका महानगर प्रहरीका प्रवक्ता मोहम्मद तालेबुर रहमानले भने, 'हामी उनीहरूको अपराधको मूल्याङ्कन गरिरहेका छौं।'
हसिनाको अवामी लिगले आइतबार आयोजना गरेको धम्कीपूर्ण र्यालीको पूर्वसन्ध्यामा उक्त सानो विरोध प्रदर्शन भएको थियो, जसलाई अन्तरिम सरकारले ‘फाँसीवादी’ गतिविधि भन्दै प्रतिबन्ध लगाएको थियो।
विद्यार्थीहरूले ढाकाको मध्य भागमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।
हसिनाको शासन ढलेपछि उनका दर्जनौं सहयोगीलाई गिरफ्तार गरिएको छ र पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध आन्दोलनका क्रममा ७०० भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको प्रहरी कारबाहीमा दोषी ठहर गरिएको छ। अवामी लिगप्रति बफादार अन्य नेताहरू लुकेर बसेका छन्।
हसिनाको अडियो रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भएपछि उनका समर्थकलाई आइतबार प्रदर्शन गर्न र ट्रम्पको फोटो र अमेरिकी झण्डा अङ्कित प्लेकार्ड बोक्न आग्रह गरिएको प्रहरीले जनाएको छ।
'उनले प्लेकार्डलाई ढालको रूपमा प्रयोग गर्न र कुनै आक्रमण भएमा फोटो र भिडियो फुटेज लिन आग्रह गर्नुभएको थियो, प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनीहरूले संयुक्त राज्य अमेरिकासँगको बङ्गलादेशको मैत्रीपूर्ण सम्बन्धलाई कमजोर पार्ने षडयन्त्र रचिरहेका बताइएको छ।
हसिनाको पार्टीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सरकारले बिना प्रमाण उनको शासनको विरोधमा प्रदर्शनलाई प्रोत्साहित गरेको आरोप लगाएको थियो।
उनको १५ वर्ष लामो शासनकालमा विपक्षीहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने घटनाहरू भएका थिए।
हसिनालाई सत्ताच्युत गरेपछि पदभार ग्रहण गरेका ८४ वर्षीय युनुसले ट्रम्पको चुनावी विजयपछि उनलाई बधाई तथा शुभकामना दिँदै आफू अमेरिकासँग मिलेर काम गर्न आतुर रहेको बताएको थियो।
प्रहरीका अनुसार अवामी लिगले र्याली गर्न अनुमति मागेको थिएन भने युनुसका प्रेस सचिवले हसिनाको पार्टीलाई मार्च गर्न अनुमति नदिइएको बताएको थियो।
शफिकुल आलमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'अवामी लिग, यसको वर्तमान स्वरूपमा, एक फासीवादी पार्टी हो।'
'सामूहिक हत्यारा र तानाशाहको आदेशमा र्याली, जमघट वा जुलुस निकाल्ने कोसिस गर्ने जो कोहीले पनि कानुन कार्यान्वयन गर्ने निकायको पूर्ण बलको सामना गर्नेछ, उनले बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना समर्थित समूहलाई इङ्गित गर्दै भने।
-(रासस/एएफपी)
कात्तिक २४, २०८१ आइतबार १९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।