कालिकोटमा जिप दुर्घटना अपडेट : मृतक ६ जनाको पहिचान खुल्यो
कालीकोट : कालिकोटको पलाता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका-६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता-५ की छाया शाही तथा पलाता-३ का दमन रोकाया रहेका छन्।
दुर्घटनामा परेर घाइते हुनेहरूमा पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भुपेन्द्र रोकाया, पलाता-३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत तथा पलाता-५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ।
घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ।
पलाता गाउँपालिका-५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो।
कात्तिक २५, २०८१ आइतबार १९:१५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।