पूर्व प्रदेश कानुनमन्त्री लिलाबल्लभलाई दुई दिन हिरासतमा राख्न अनुमति, मानव तस्करी र किर्तेमा अनुसन्धान
काठमाडौँ : प्रहरीले नक्कली सरकारी कागजपत्रको आधारमा अवैध रूपमा तीन जनालाई जापान लैजाने प्रयास गरेको घटनामा जोडिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई अनुसन्धानका लागि २ दिन हिरासतमा राख्न अनुमति पायो।
आइतबार कोशीमा पक्राउ गरेर काठमाडौँ ल्याइएका उनलाई प्रहरीले सरकारी कागजात किर्ते र मानव तस्करीको आरोपमा अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्ने अनुमति माग्दै जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो।
पहिलो पटक अदालतले उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। अधिकारीसँगै यो घटनामा अहिले सात जना प्रहरी हिरासतमा छन्।
यसअघि अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिवारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।
कसैलाई पत्तै नदिई जापान हिँडेका उनी नक्कली कागज बनाएर तीन जनालाई सँगै लिएर गएपछि जापानको अध्यागमनले डिपोर्ट गरेको थियो। उनी जापान गएको सार्वजनिक भएपछि प्रदेश मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृति नै नभएको खुलेपछि विवाद सुरु भएको थियो।
चर्को आलोचना भएपछि उनले गत बुधवार राजीनामा दिएका थिए। पहिला नैतिकताको आधारमा राजीनामा दिएको दाबी गरे पनि राजीनामाको कारण भ्रमण स्वीकृत नगराई जापान जानुभन्दा पनि गम्भीर अपराध मानव तस्करी जोडियो।
अधिकारी मानव तस्करीमा जोडिएको घटनाबारे अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा रहेकाहरूमा नक्कली कागजको आधारमा मन्त्री अधिकारीसँग जापान गएर उतै लुक्ने उद्देश्यले गएका तीन जना समेत छन्।
खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा नक्कली कागजका आधारमा मन्त्रीसँगै जापान गएको देखिएको र उनीहरूसहित ६ जना प्रहरी हिरासतमा छन्।
जापानबाट डिपोर्ट भएका तीन जनाको बयानको आधारमा प्रहरीले धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवारलाई समेत समातेको छ।
सम्बन्धित समाचार
कात्तिक २५, २०८१ आइतबार १८:१४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।