मानव तस्करीमा जोडिएका लिलाबल्लभलाई काठमाडौँमा ल्याइयो
काठमाडौं : मानव तस्करीको आरोपमा प्रकाउ परेका एमाले कोशीका सांसद लिलाबल्लभ अधिकारीलाई विमानबाट काठमाडौं ल्याइयो।
आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ गरिएका अधिकारीलाई सविमानबाट काठमाडौं ल्याइएको हो। उनीमाथि तीन जनालाई अबैध रूपमा जापान लैजाने प्रक्रियामा संलग्न रहेको आरोप छ।
यसअघि अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिवारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।
कसैलाई पत्तै नदिई जापान हिँडेका उनी नक्कली कागज बनाएर तीन जनालाई सँगै लिएर गएपछि जापानको अध्यागमनले डिपोर्ट गरेको थियो। उनी जापान गएको सार्वजनिक भएपछि प्रदेश मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृति नै नभएको खुलेपछि विवाद सुरु भएको थियो।
चर्को आलोचना भएपछि उनले गत बुधवार राजीनामा दिएका थिए। पहिला नैतिकताको आधारमा राजीनामा दिएको दाबी गरे पनि राजीनामाको कारण भ्रमण स्वीकृत नगराई जापान जानुभन्दा पनि गम्भीर अपराध मानव तस्करी जोडियो।
अधिकारी मानव तस्करीमा जोडिएको घटनाबारे अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा रहेकाहरूमा नक्कली कागजको आधारमा मन्त्री अधिकारीसँग जापान गएर उतै लुक्ने उद्देश्यले गएका तीन जना समेत छन्।
खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा नक्कली कागजका आधारमा मन्त्रीसँगै जापान गएको देखिएको र उनीहरूसहित ६ जना प्रहरी हिरासतमा छन्।
जापानबाट डिपोर्ट भएका तीन जनाको बयानको आधारमा प्रहरीले धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवारलाई समेत समातेको छ।
कात्तिक २५, २०८१ आइतबार १६:०३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।