मानव तस्करी आरोपमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई साढे १ बजेको विमानबाट काठमाडौं ल्याइँदै

मानव तस्करी आरोपमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई साढे १ बजेको विमानबाट काठमाडौं ल्याइँदै

काठमाडौं : मानव तस्करीको आरोपमा प्रकाउ परेका एमाले कोशीका सांसद लिलाबल्लभ अधिकारीलाई दिउँसो साढे १ बजेको विमानबाट काठमाडौं ल्याइँदैछ।

आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ गरिएका अधिकारीलाई साढे १ बजे विमानबाट काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दियो।

मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।

यसअघि अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।

कसैलाई पत्तै नदिई जापान हिँडेका उनी नक्कली कागज बनाएर तीन जनालाई सँगै लिएर गएपछि जापानको अध्यागमनले डिपोर्ट गरेको थियो। उनी जापान गएको सार्वजनिक भएपछि प्रदेश मन्त्रीपरिषद्बाट भ्रमण स्विकृती नै नभएको खुलेपछि विवाद शुरु भएको थियो।

चर्को आलोचना भएपछि उनले गत बुधबार राजीनामा दिएका थिए। पहिला नैतिकताको आधारमा राजीनामा दिएको दाबी गरे पनि राजीनामाको कारण भ्रमण स्वीकृत नगराई जापान जानुभन्दा पनि गम्भीर अपराध मानव तस्करी जोडियो।

अधिकारी मानव तस्करीमा जोडिएको घटनाबारे अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा रहेकाहरूमा नक्कली कागजको आधारमा मन्त्री अधिकारीसँग जापान गएर उतै लुक्ने उद्देश्यले गएका तीन जना समेत छन्।

खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा नक्कली कागजका आधारमा मन्त्रीसँगै जापान गएको देखिएको र उनीहरुसहित ६ जना प्रहरी हिरासतमा छन्।

जापानबाट डिपोर्ट भएका तीन जनाको बयानको आधारमा प्रहरीले धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवारलाई समेत समातेको छ।

अनुसन्धानरत स्रोतका अनुसार उनीहरू मन्त्रीको सचिवालयका कर्मचारी बनेर कात्तिक १४ मा मन्त्री सहित जापान पुगेका थिए। तर उनीहरूलाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरिदियो।

डिपोर्ट भएर नेपाल फर्काइएका चारै जनालाई त्रिभुवन विमानस्थलमा रहेको प्रहरीले नियन्त्रणमा लिएका थिए। अधिकारी मन्त्री भएको खुलेपछि उनलाई छाडियो। तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो।

अनुसन्धानमा उनीहरू प्रदेश मन्त्रालयको नक्कली कागजपत्र बनाएर जापान गएको खुलेपछि थप तीन जना पक्राउ परे। पक्राउ परेका ६ जनासँगको बयान र प्राप्त कागजपत्र अनुसार मानव तस्करीमा मन्त्री रहेका अधिकारीको प्रत्यक्ष संलग्नता देखिएको थियो।

कात्तिक २५, २०८१ आइतबार १३:२६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।