निक्की हेलीलाई नयाँ मन्त्रीमण्डलमा समावेश नगर्ने ट्रम्पको घोषणा

निक्की हेलीलाई नयाँ मन्त्रीमण्डलमा समावेश नगर्ने ट्रम्पको घोषणा

एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निक्की हेली र माइक पोम्पेओलाई आफ्नो प्रशासनमा समावेश नगर्ने बताएका छन्।

राष्ट्रपति निर्वाचनमा विजयी भएसँगै ट्रम्पले आफ्नो मन्त्रीमण्डल गठन गर्दैछन्। यस क्रममा उनले यस्तो घोषणा गरेका हुन्।

ट्रम्पले भने, ‘मैले विगतमा उनीसँग काम गर्दा निकै आनन्द महशुस गरेको छु। म उनको कामको प्रशंसक पनि हुँ। म उनलाई देशको सेवाको लागि धन्यवाद दिन चाहन्छु।’

ट्रम्पका नजिकका सहयोगीहरूले निक्की हेली र माइक पोम्पेओले ट्रम्पमाथि आफूविरुद्ध काम गरेको आरोप लगाएका छन्। यी दुवैले ट्रम्पको ‘अमेरिका फर्स्ट’ एजेन्डालाई कमजोर पार्न सक्ने ट्रम्पका निकटहरूको आँकलन छ।

यस वर्षको शुरूमा निक्की हेलीले रिपब्लिकन राष्ट्रपति उम्मेदवारहरूमा ट्रम्पलाई कडा टक्कर दिएकी थिइन्। निक्की हेलीले ट्रम्पको आलोचना गर्दै उनलाई ‘पागल’ समेत भनेकी थिइन्।

यसैबीच एरिजोना स्टेटमा पनि ट्रम्प विजयी भएसँगै ट्रम्पले अमेरिकाका सबै स्विङ स्टेटमा जित हात पारेका छन्।

यो जितसँगै ट्रम्पसँग ३१२ इलेक्टोरल कलेज भोट छ भने ह्यारिसले कुल २२६ इलेक्टोरल कलेज भोट प्राप्त गरेकी छन्।

कात्तिक २५, २०८१ आइतबार १२:५६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।