गेटाको प्रमुखबाट हटाइए खरिद विवादमा मुछिएका डा. विप्लव, सेटिङ ‘किङ्ग’ चौरासियालाई मन्त्रीले चलाएनन्

गेटाको प्रमुखबाट हटाइए खरिद विवादमा मुछिएका डा. विप्लव, सेटिङ ‘किङ्ग’ चौरासियालाई मन्त्रीले चलाएनन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खरिद सेटिङमा चरम विवादित भएका गेटा अस्पतालका प्रमुख डा. विप्लप सापकोटालाई हटाएका छन्।

मन्त्री पौडेलले शुक्रबार निर्णय गर्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई गेटाको प्रमुखको जिम्मेवारी दिँदै डा. सापकोटालाई प्रमुखबाट हटाएकाे मन्त्रालय स्रोतले जानकारी दियो। यद्यपि उनलाई गेटामै राखिएको छ।

उनी ७० करोडको स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा विवादमा परेका थिए।

त्यसैगरी मन्त्री पौडेलले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. प्रदीप केसीलाई विभागको महानिर्देशकको जिम्मेवारीबाट हटाउँदै सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको मात्रै जिम्मेवारी दिएका छन्।

डा. केसी विभागको महानिर्देशक र वैद्यखानाको कार्यकारी निर्देशक गरी दुई वटा जिम्मेवारीमा थिए। डा. केसी पनि खरिद लगायतको विवादमा मुछिएका विवादित चिकित्सक हुन्। स्रोतका अनुसार विभागको प्रमुखमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. अनुप बास्तोलालाई मन्त्रालय तानिएको छ। मन्त्रीको चाहना अनुसार नै उनलाई मन्त्रालय तानिए पनि जिम्मेवारी भने नदिईएको मन्त्रालय प्रशासनले जनाएको छ।

उता काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रमा कार्यरत डा. भक्त केसीलाई मन्त्रालयको समन्वय महाशाखामा सरुवा गरिएको छ भने मन्त्रालयमा कार्यरत उपेन्द्र ढुंगानालाई राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रमा पठाइएको छ।

तर, मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्रीको चरम खरिद विवादमा मुछिएका राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनी, भरतपुर अस्पतालका प्रमुख डा. कृष्णप्रसाद पौडेल र कान्ति बाल अस्पतालका प्रमुख डा. पंकज रायलगायतलाई भने मन्त्री पौडेलले अस्पताल प्रमुखको जिम्मेवारीबाट हटाएका छैनन्।

मन्त्रालयको प्रशासन स्रोतका अनुसार लामो समयदेखि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)को प्रमुखमा दरबन्दी विपरीत रहेका डा. सुरेन्द्र चौरासियालाई पनि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हटाएनन्। डा. चौरासिया लामो समयदेखि खरिद सेटिङ ‘किङ्ग’का रूपमा परिचित बदनाम कर्मचारी हुन्।

सङ्गठन संरचना (अर्गानोग्राम) अनुसार स्वास्थ्य सेवाको हेई, नवौं-दशौं तहको वरिष्ठ जनस्वास्थ्य प्रशासक आपूर्ति व्यवस्थापन शाखाको प्रमुख बन्ने नियम छ। तर, उनी त्यहाँ बस्न सफल हुनुको उद्देश्य प्रष्ट देखिन्छ- खरिद सेटिङ।

व्यवस्थापन महाशाखाकै आपूर्ति व्यवस्थापन शाखामा दिपक अधिकारीसमेत लामो समयदेखि सेटिङ अनुसारको टेण्डर कागजात बनाउन माहिर कर्मचारीका रूपमा चिनिँदै आएका छन्।

विभागका स्थायी बायोमेडिकल इन्जिनियर आशिस चौहान र करारमा पटक-पटक विभागमा बसेकी बायोमेडिकल इन्जिनियर पद्मा मिश्रा सेटिङ अनुसारको प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर चाहेकै सप्लायर्सलाई टेण्डर पारिदिन सहजीकरण गरिदिने माहिर र बदनाम खेलाडी हुन्।

म्बन्धित समाचार

कात्तिक २४, २०८१ आइतबार १२:२१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।