'पूर्णबहादुरको सारङ्गी'माथि लाग्यो गम्भीर आरोप, मूल कथा उपन्यास 'सङ्ग्रामपुर' बाट लिएको लेखकको दाबी

'पूर्णबहादुरको सारङ्गी'माथि लाग्यो गम्भीर आरोप, मूल कथा उपन्यास 'सङ्ग्रामपुर' बाट लिएको लेखकको दाबी

काठमाडौँ : हलमा हाउसफूल चलिरहेको फिल्म पूर्णबहादुरको सारङ्गीको मूल कथा आफ्नो उपन्यासको भएको दाबी सहित 'सङ्ग्रामपुर' का लेखक डा शिवशङ्कर बस्यालले १० बुँदे कथाको प्लट सार्वजनिक गरेका छन्।

फिल्मको कथा र निर्देशन दुवै सरोज पौडेलको हो भने पटकथा र संवाद महेश दवाडीको हो।

फिल्मको  ट्रेलर हेर्दा नै कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको भन्दै बस्यालले  फिल्म हेरेपछि 'पूर्णबहादुरको सारङ्गी' लाई  'सङ्ग्रामपुर'उपन्याससँग जुधाउँदा चलचित्रको मूल कथासँग मिलेको दाबी सहित १० बुँदा सार्वजनिक गरेका छन्। सार्वजनिक बुँदा फिल्मको मूल कथासँग मिलेको पनि देखिन्छ।

उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको तर पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु-छोराको सम्बन्ध लगायतका फिल्मको मूल भावसँग मेल खाएको उनको दाबी छ।

फिल्ममा मूल पात्र पूर्ण अर्थात् विजय बराल र  कमल अर्थात् बाल कलाकार र प्रकाश सपूत। पूर्णको सहयोगीमा गन्धर्व नै बनेका छन् मुकुन भुसाल। भरियाको भूमिकामा छन् बुद्धि तामाङ।

'पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छाया चित्रसँग मिल्छन्,' उनले लेखेका छन्' केही प्रसङ्गहरू बिलकुल विपरीत रूपमा प्रयोग गरिएका छन्।  पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ। तसर्थ यो संयोग होइन,यो  नियोजित हो।'

उनले आफ्नो उपन्यासका प्रसङ्ग र पूर्ण बहादुरको सारङ्गीको मूल कथामा मिलेको प्रसङ्ग नौ बुँदामा सार्वजनिक गरेका छन्।

१- पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र  हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर।

२- पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग  सङ्ग्रामपुरमा रूपमानको  स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।

३-छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी  पूर्णबहादुरको शैली रूपमान सङ मिल्दा छन्।

४-आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक पटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ।

५-जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन्।

६-पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै  टप विद्यार्थी हुनु।

७- त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताएका छन्।

८-सङ्ग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु।

९-बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल  पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु।

१०- रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।

उनले माथिका बुँदा कथाका मूल प्रसङ्गहरू रहेको भन्दै यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव फिल्मभित्र देख्न पाइने उल्लेख गरेका छन्।

एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च रचेको भन्दै कुनै लोभ लालच प्रपञ्चले यो नभनी एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व अनुसार बोलेको उनले उल्लेख गरेका छन्।

उनले लेखेका छन् 'म अब नबोलौला , तर इतिहासमा यो कोलाहल रहिरहनेछ। मन जितिरहेको यो चलचित्रले अरू मान्छेहरूको मन जितिरहोस्। मेरो यही शुभकामना!'

कात्तिक २५, २०८१ आइतबार ००:५१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।