‘पूर्णबहादुरको सारंगी’को प्रचारमा असहयोग गरेको भन्दै आलोचना बढेपछि प्रकाश सपुतले माफी मागे

‘पूर्णबहादुरको सारंगी’को प्रचारमा असहयोग गरेको भन्दै आलोचना बढेपछि प्रकाश सपुतले माफी मागे

काठमाडौँ : फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को सफलतासँगै यसका निर्माण पक्ष दङ्ग छन्। उत्साहित छन्। तर यही फिल्मका अभिनेता प्रकाश सपूत भने आलोचनाको घेरामा छन्।

आलोचनाको कारण यही फिल्म नै हो। फिल्मको प्रदर्शन मिति घोषणा भए लगत्तै एकाएक प्रकाश असन्तुष्ट देखिए। निर्माण पक्षले आफ्नो फिल्म वसन्त रिलिज भएपछि मात्रै पूर्णबहादुरको सारंगी रिलिज गर्ने सहमति गरे पनि पहिल्यै फिल्म रिलिज गर्न लागेको भन्दै उनी रिसाएका थिए।

उनले निर्माण टिमले धोका दिएको भन्दै भोलीका दिनमा याद राख्नेसम्मको चेतावनी दिएका थिए। जुन बेलामा उनी असन्तुष्ट देखिए केही सहानुभूति नपाएको हैन। तर जब उनले निर्माण गरिरहेको फिल्म वसन्तको छायाङ्कन समेत नसकिएको खुल्यो अनि सहानुभूति आलोचनामा बदलियो।

छायाङ्कनदेखि सबै काम सक्काएर रिलिजका लागि तयार भएको फिल्म रिलिज गर्न छायाङ्कन भइरहेको फिल्म कहिले रिलिज होला भनेर कुर्नुपर्ने उनको तर्कमा दम देखिएन।

प्रकाश सपुत फिल्मको प्रमोसनमा सक्रिय भएनन्। उनी आफ्नै फिल्म वसन्तको निर्माणमा लागे। यता विजय बरालदेखि बरु बुद्धि तामाङसम्म फिल्मको प्रमोसनमा हिँडे। फिल्म रिलिज भयो। पहिलो दिनको रेस्पोन्स त्यति गतिलो थिएन। दोस्रो दिन शुक्रवार हिन्दी फिल्म रिलिज भएकाले पहिलो दिन पाएको शो सङ्ख्या पनि घट्यो।

बिस्तारै सकारात्मक समीक्षा अनि फिल्म हेरेका दर्शकहरूले फिल्मबारे सामाजिक सञ्जालमा लेख्न थाले। शुक्रवार दिउसबाट पाएको शो प्याक हुन थाले। शनिवार फिल्मले अकुपेन्सी बढायो। आइतबारबाट हाउसफुलकोक्रम सुरु भयो।

जब फिल्म हाउसफुल हुन थाल्यो अनि मात्र प्रकाश सपुत फिल्मको टिमसँग हलहरूमा देखिन थाले। त्यो बेलासम्म ढिला भइसकेको थियो। प्रकाश फिल्मको प्रमोसनमा त देखिए तर पहिला असहयोग गरेको अनि जब फिल्म सुपरहिट हुने देखियो अनि क्रेडिट लिन मिसिए भनेर आलोचना सुरु भयो।

फिल्मको शोको सङ्ख्या बढिरहेसँगै प्रकाशको आलोचनाको गति पनि बढेपछि बाध्य भएर अन्तमा प्रकाशले हिजोका दिनका आफ्नो व्यवहारप्रति सार्वजनिक रूपमै माफी मागे सामाजिक सञ्जालमा।

शनिवार सामाजिक सञ्जालमा उनले माफी माग्दै लेखे ‘जानी नजानी मन दुखाएकोमा माफी चाहन्छु, कमजोरीहरू सुधार्दै जाउँला। अब त उमेरले पनि अलि पाको हुँदै गइयो। सस्तो चर्चा, परिचर्चा, सफलता, व्यस्तताभन्दा पनि एउटा राम्रो विचार र व्यवहारसहितको व्यक्ति बन्न चाहन्छु। यसरी खबरदारी चाहिँ गर्दै गर्नुस् तर राम्रो ऊर्जा पनि दिनुस् न है। म कलामार्फत थुप्रै कुरा भन्न सक्छु, समाजलाई सुसूचित र राज्यलाई प्रश्न गर्न सक्छु। तपाईँहरूलाई निरन्तर मनोरञ्जन गर्न सक्छु ! यति आत्मविश्वास छ।’

उनले फिल्म रिलिज हुँदाको दिनमा काममै रहेको भन्दै आफूले धर्म नछाडेको उल्लेख गरेका छन्।

‘सम्झौता अनुसार नभएपछि मैले केही समय आफ्नो अडान लिएकै हो तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रैछ। मैले त्यही सोचे र रिलिजको लागि मनै देखि लागी परे’ उनले लेखेका छन्।

उनले १२ वर्षको कलाकारितामा आफ्नो व्यक्तिगत कर्म  अलि अपजसी र अभागी भए पनि पेसागत कर्मलाई भाग्यमानी प्रमाणित गरिदिएको भन्दै गत वर्ष परदेशी २ बाट फिल्ममा आएकोमा अहिले ब्लकबस्टर फिल्म खेल्न पाएको बताएका छन्।

‘पूर्ण बहादुरको सांरगी जस्तो कथा बनिरहुन्, मौलिक सांरगीको धुन गुन्जिरहुन् र त्यसमा म जोडिन पाईराखौ’ उनले लेखेका छन्।

कात्तिक २४, २०८१ शनिबार २२:४०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।