सरकारले संविधान संशोधनको कार्य शुरू नगरेकोमा शेखरको आपत्ति, ओली नेतृत्वको कार्यशैलीमा पनि प्रश्न
उदयपुर : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र एमाले हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताए।
आज कांग्रेस त्रियुगा नगरपालिका-११ ले आयोजना गरेको स्वर्गीय बीपी कोइरालाको शालीक अनावरण कार्यक्रममा उनले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनमा यी दुवे पार्टी नै प्रतिस्पर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिए।
'अहिले देशमा राजनीतिक अवस्था सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको छ। देशको राजनीतिक परिस्थितिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्न बाध्य हुनुपरेको छ तर यी दुई दल नै आगामी दिनमा राजनीतिक प्रतिस्पर्धी दल हुन् भन्ने कुरालाई बिर्सिनुहुँदैन, नेता डा कोइरालाले भने।
उनले सरकारमा रहेका पार्टीको प्रतिनिधित्व गर्ने नेताहरूले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्ने तथा आम कार्यकर्ताले सरकारले गुण र दोषका आधारमा सरकारका काममा खबरदारी एवं प्रशंसा गर्नुपर्ने बताए।
सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमतिअनुसार कुनै काम नगरेको भन्दै नेता कोइरालाले एमाले अध्यक्ष्य केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टिसमेत जनाए।
उनले वर्तमान सरकार संविधान संशोधनलगायतका महत्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको सात बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरू नगरेकोमा आपत्ति जनाए।
संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य शुरू गर्नुपर्ने उनको भनाइ छ।
कात्तिक २४, २०८१ शनिबार २१:३६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।