हेमन्त धामीको कप्तानीमा पुरूष यु-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
काठमाडौं : पुरूष यु-१९ एसिया कप-२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुन लागेको यु-१९ एसिया कपको लागि नेपाली टोली घोषणा गरेको हो।
हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो। जसको उप-कप्तानमा अर्जुन कुमाल छन्।
नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन्।
त्यस्तै, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ।
टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्दले जिम्मेवारी पाएका छन्।
पुरूष यू-१९ एसिया कप-२०२४ आगामी मङ्सिर १४ देखि युनाइटेड अरब इमिरेट्स (युएई)मा आयोजना हुँदैछ। एसिया कपमा घरेलु टोली यूएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन्।
समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन्। समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन्।
नेपालले मङ्सिर १४ मा हुने पहिलो खेलमा श्रीलङ्काको सामना गर्नेछ। मङ्सिर १६ मा बङ्गलादेश र मङ्सिर १८ मा अफगानिस्तान प्रतिस्पर्धा गर्नेछ।
दुबै समूहबाट दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछ। मङ्सिर १९ मा सेमिफाइनलको खेल हुनेछ। सेमिफाइनलबाट दुबै समूहबाट एक/एक टोली फाइनलमा पुग्नेछन्।
सेमिफाइनलबाट फाइनलमा पुग्ने दुई टोलीबीच मङ्सिर २१ मा उपाधिको लागि भीडन्त हुनेछ। खेल मङ्सिर २३ सम्म चल्नेछ।
कात्तिक २४, २०८१ शनिबार २०:३९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।