राज्यले प्रतिशोध साँधेर रविलाई पक्राउ गरिएको निष्कर्षसहित रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने
काठमाडौं : सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।
शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले पार्टीको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिए।
उनले विज्ञप्तिमा भनेका छन्, 'सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भर्त्सना गर्दछ। यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ।'
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापतिसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेकै बेला रास्वपाले भने आन्दोलन गर्दै आएको छ।
बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध जनसमुदायमा जागृति फैलाउने अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको झाले जानकारी दिए।
कात्तिक २४, २०८१ शनिबार २०:१६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।