उत्तरी गाजामा अनिकाल व्याप्त, महंगी दुई हजार प्रतिशतले बढ्यो

उत्तरी गाजामा अनिकाल व्याप्त, महंगी दुई हजार प्रतिशतले बढ्यो

एजेन्सी : उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा लगभग रोक लगाइएका कारण अनिकाल परेको संयुक्त राष्ट्रसंघको सहयोगमा तयार पारिएको शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

अनिकाल पुनरावलोकन समितिले जारी गरेको प्रतिवेदनमा ‘गाजा पट्टीमा तीव्र गतिमा बिग्रँदै गएको परिस्थितिले गर्दा अनिकाल लाग्ने सम्भावना देखिएको’ उल्लेख छ। 

'अनिकालको सीमा पार भइसकेको वा निकट भविष्यमा पनि अनिकाल व्याप्त बन्ने सम्भावना देखिन्छ,' प्रतिवेदनमा भनिएको छ। 

सन् २०२५ को नोभेम्बरदेखि अप्रिल २०२५ को बीचमा गाजामा ‘विनाशकारी’ खाद्य असुरक्षाको सामना गरिरहेका मानिसहरूको सङ्ख्या तीन लाख ४५ हजार अर्थात् जनसङ्ख्याको १६ प्रतिशत पुग्ने अनुमान गरिएको थियो।

इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी) को रिपोर्टले यसलाई आईपीसी फेज ५ को रूपमा वर्गीकृत गरेको छ। यस्तो अवस्था जब ‘भोकमरी, मृत्यु, अभाव र अत्यन्त गम्भीर तीव्र कुपोषणको स्तर स्पष्ट छ।

उक्त प्रतिवेदनपछि गाजाको उत्तरी क्षेत्रमा खाद्य प्रणाली ध्वस्त भएको, मानवीय सहायतामा कमी आएको र पानी र सरसफाइको अवस्था नाजुक भएको समितिले जनाएको छ।

'यो अनुमान गर्न सकिन्छ कि यी क्षेत्रहरूमा भोकमरी, कुपोषण र अन्य रोगका कारण मृत्युदर अत्यधिक तीव्र गतिमा बढिरहेको छ,' विज्ञप्तिमा भनिएको छ।

गत वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी आक्रमणका कारण गाजा पट्टीको ठूलो क्षेत्र तहसनहस भएको छ।

सन् २०२३ को अक्टोबरयता गाजा पट्टीमा प्रवेश गर्न अनुमति दिइएको सहायता सामग्री कुनै पनि समयको तुलनामा कम भएको प्रतिवेदनमा उल्लेख छ।

कालोबजारीका कारण अत्यावश्यक वस्तुको मूल्य बढेसँगै खाद्यान्नको पहुँच निरन्तर खस्कँदै गएको छ। खाना पकाउने ग्यास दुई हजार ६१२ प्रतिशत, डिजेल एक हजार ३१५ प्रतिशत र दाउरा २५० प्रतिशतले बढेको छ। 

कात्तिक २४, २०८१ शनिबार १९:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।