मन्त्री पाण्डेको पहिलो प्राथमिकतामा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

मन्त्री पाण्डेको पहिलो प्राथमिकतामा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डे गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन व्यक्त गरेका छन्।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिबार गरी चार वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले उडान सम्पन्न हुन लागेको अवसरमा मन्त्री पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी सम्हालेसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि पहिलो प्राथमिकता राखेको कुरा प्रष्ट पारे।

मन्त्री पाण्डेले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन र मैले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने निर्णय गर्यौं।’

उनले अगाडि भनेका छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको छ र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरू भइरहेका छन्।’

मन्त्री पाण्डेले ठूलो पूँजी लगानी गरेका विमानस्थल पूर्णरुपमा सञ्चालन हुन त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रम लगायतका अन्तर सम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरूको विकास हुनु आवश्यक हुने बताए।

‘राज्यको लगानीमा निर्माण भएको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको दुई वर्षसम्म पनि जजिरा एयर हवाई कम्पनीले केही समयका लागि गरेको उडान बाहेक कुनै पनि अन्तर्राष्ट्रिय हवाई उडान नभर्दा स्थानीय व्यवसायी लगायत आम सर्वसाधारणमा निराशाको वातावरण बनेको थियो, उनले भने। 

कात्तिक २४, २०८१ शनिबार १८:५४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।