मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीबारे गगन 'सत्ताको नजिक भएकै कारण उन्मुक्ति पाउनु हुँदैन'
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने बताएका छन्।
आज गणेशमान सिंहको ११० औं जन्म जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत उनले कानूनविपरीत कार्य गर्ने सबै जना कानूनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताए।
मानव तस्करीमा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीप्रति लक्षित गर्दै उनले सत्ताको नजिकको होस् कि टाढाको होस् गल्ती गर्नेले सजाय भोग्नुपर्ने बताए।
उनले लेखेका छन्, ‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि, मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भीडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस्, कानून सबैको लागि बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ।’
मन्त्रीपरिषद्बाट निर्णय नै नगराई व्यक्तिगत रूपमा जापान हिँडेका अधिकारी डिपोर्ट भएर नेपाल फर्किएपछि नक्कली कागजको भरमा तीन जनालाई जापान प्रवेश गराउने प्रयास गरेको उनीमाथि आरोप छ। तर, अपराध अनुसन्धान गरिरहेको प्रहरीले भने उनलाई औपचारिक अनुसन्धानको दायरामा ल्याएको छैन।
यता, उनको पार्टी एमालेले सङ्गठित सदस्यबाट निलम्बित गरिसकेको छ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
कात्तिक २४, २०८१ शनिबार १८:१२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।