भैरहवाबाट एकैदिन तीन वटा अन्तर्राष्ट्रिय उडान, काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै

भैरहवाबाट एकैदिन तीन वटा अन्तर्राष्ट्रिय उडान, काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै

काठमाडौं : नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन्। विमानस्थल सुरू भएदेखि नै उडान सुरू गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरी सुरू गरेको छ।

आज १७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित १६८ यात्रु लिएर उडेको छ भने फ्लाई दुबई र नेपाल एयरलाइन्स पनि आजैदेखि उडान सुरू गर्दैछन्। यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ।

जजीरा एयर सातामा तीन दिन उडान गर्दैछ। मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। 

फ्लाई दुबईले दैनिक उडान गर्ने र अपराह्न पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टापछि दुबई फिर्ता जाने उनले बताए 

नेपाल एयरलाइन्सले सातामा तीन पटक काठमाडौं-भैरहवा-दुबई उडान गर्नेछ। तिवारीका अनुसार आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौंबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ।

तिवारीका अनुसार कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको छ। उनले अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्नसक्ने क्षमता रहेको बताए।

‘दैनिक ३६ वटासम्म विमान भैरहवाबाट हामी सञ्चालन गर्न सक्ने अवस्थामा छौँ, अध्यागमनलगायत अन्य जनशक्ति अहिले पूरा छ, आवश्यकताअनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ,’ तिवारीले भने ।

भैरहवा तथा यस आसपासका यात्रुहरू भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन्। देवदह नगरपालिकाका तिजन रानाले पहिलो पटक भैरहवामै अवतरण गर्न पाउँदा खुसी भएको बताए।

‘हामी भैरहवा विमानस्थल सञ्चालनको एकदमै पर्खाइमा थियौँ, सञ्चालन हुने बित्तिकै पहिलो उडानबाट भैरहवा आएका छौँ, वर्षमा दुई पटक नेपाल आइन्छ, अब काठमाडौं नै धाउनुपर्ने बाध्यता हुँदैन,’ उनले भने।

सोही विमानमार्फत भैरहवा आइपुगेका कुवेतका राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउँदा खुशी भएको बताए। 

कात्तिक २४, २०८१ शनिबार १७:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।