एनपीएलबारे सोमपाल कामी : फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामी ‘कमेडी दरबार’को सेटमा पुगेर एनपीएल फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’को बारेमा जानकारी गराएका छन्।
शनिबार ‘कमेडी दरबार’मा पुगेर राष्ट्रका चर्चित क्रिकेटरहरू सोमपाल कामी, रित गौतम र मौसम ढकालले ‘कर्णाली याक्स’को बारेमा जानकारी गराए।
‘कमेडी दरबार’मा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मार्की खेलाडी सोमपाल कामीले ‘कर्णाली याक्स’को टिम जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए। उनले ‘कर्णाली याक्स’को टिममा जोडिन पाउँदा खुसी लागेको बताए।
उनले भने, ‘कर्णाली याक्स’ टिम मैदानमा जित्ने लक्ष्यका साथ उत्रिने छ। जति पनि खेल खेल्छौं, जित्नकै लागि भनेर खेलिरहेका हुन्छौं। सबै टिमहरू एकदमै राम्रो छन् तर महत्वपूर्ण कुरा यो हो की त्यो दिन राम्रो खेल्न सकियोस् भन्ने हो। टि-२० क्रिकेट फास्ट खेल्ने क्रिकेट हो कसले जित्छ त्यो भन्न सकिँदैन तर हाम्रो ‘कर्णाली याक्स’ टिम एकदमै राम्रो छ।’
उनले भविष्यमा नेपाली क्रिकेट टिमले राम्रो नतिजा लिएर आउने बताए। कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन्।
प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्सन झा, देव खनाल र नन्दन यादवलाई समावेश गरेको छ।
त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ। कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ
प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ। प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ।
कात्तिक २४, २०८१ शनिबार १६:३८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।