जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलाइसिस मेसिन तत्काल जडान गर्न स्वास्थ्य मन्त्रीको निर्देशन
तनहुँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलाइसिस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतरास्थित केन्द्रको आज निरीक्षण गर्दै मेसिन खरीद गर्न मन्त्रालयले प्राथमिकता दिने जानकारी दिए।
'मेसिन जडान गरी मिर्गौलाको डायलाइसिस सेवा प्रवाह गर्नुहोस्, मेसिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ, उनले भने।
छिमेकी जिल्लावासीले सेवा लिने अस्पतालमा यस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ।
उपचार केन्द्रलाई तीन सय शैय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुङ्गो लाग्ने उनको दाबी छ।
केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले डायलाइसिस सेवा प्रवाहका लागि स्थानको निर्माण भइरहेको बताए।
उनले भने, 'पूर्वाधार तयार भइरहेको छ, छिट्टै उपचार केन्द्रबाट डायलाइसिसको सेवा प्रवाह गर्ने तयारी भएको छ, कर्मचारी छनौट गरी तालिममा पठाएका छौं, पूर्वाधारका साथै कर्मचारी समेत तयार गरिरहेका छौं।'
उपचार केन्द्रबाट छिट्टै डायलाइसिसको सेवा प्रवाह गर्ने तयारी भएको छ। यस अस्पतालमा डायलाइसिस सेवा प्रवाह हुन थालेपछि तनहुँका साथै कास्की, स्याङ्जा, नवलपुर, पाल्पा जिल्लावासी लाभान्वित हुनेछन्।
कात्तिक २४, २०८१ शनिबार १५:३८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।