ट्रम्पले कागजातबिहीन आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने आफ्नो योजनालाई दोब्बर बनाउने
एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गरेका छन्।
उनले रुसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर निवर्तमान प्रशासनको नीतिलाई तोड्ने आफ्नो मनसाय रहेको संकेत गरेका छन्।
अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका व्यवस्थापक सुसी विल्सलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’को रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका हुन्।
डेमोक्र्याटिक नेता तथा अमेरिकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्ने ट्रम्पको विजयले चुनावको दुई दिनमा नै र ह्वाइट हाउस फर्कनुभन्दा साढे दुई महिनाअघि नै अमेरिकी र विश्व राजनीतिमा तरङ्ग पैदा गरेको छ।
रुसी राष्ट्रपति पुटिनले गत जुलाईमा भएको एक र्यालीमा हत्याको प्रयासपछि ट्रम्पले आफूलाई सम्हाल्ने तरिकाका लागि ‘साहसी’ भएको भन्दै प्रशंसा गरेका थिए।
अर्बपति ट्रम्पले पछि एनबीसी न्यूजसँग भनेका थिए, ‘मैले मलाई वर्षौंदेखि बारम्बार प्रशंसा गर्दै आएका पुटिनसँग ऐलेसम्म कुरा गरेका छैन। मलाई लाग्छ हामी कुरा गर्नेछौं।’
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता बाइडेन र पुटिनबीच कायम रहेको चिसो सम्बन्धबाट यो भूकम्पीय परिवर्तन हो र ट्रम्पले किएभलाई अमेरिकी समर्थनको आलोचना गरेको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यसअघि उक्त द्वन्द्वमा शान्ति सम्झौता गर्ने बताएका थिए तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गर्दै युद्धविरामको आह्वान ‘खतरनाक’ भएको बताएका थिए।
चिनियाँ राष्ट्रपति सी चिनफिङ यसअघि ट्रम्पलाई बधाई दिने विदेशी नेताहरूको सूचीमा सामेल भइसकेका छन्।
ह्यारिसले चुनाव अभियानका क्रममा तानाशाहसँग धेरै मित्रवत् व्यवहार गरेको भन्दै आलोचना गरेकी थिइन्।
ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने आफ्नो योजनालाई दोब्बर बनाउँदै यसको ‘कुनै विकल्प नभएको’ एनबीसीसँग बताएका छन्।
ट्रम्पले फ्लोरिडास्थित आफ्नो रिसोर्टमा आफ्नो ट्रान्जिसन टिममा काम गर्न थालेपछि बाइडेनले शान्तिपूर्ण र ‘व्यवस्थित’ तरिकाले सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए।
सन् २०२० को चुनावमा ट्रम्पले आफ्नो पराजय स्वीकार्न इन्कार गरेको भएपनि यसको विपरीत ८१ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई ‘तापक्रम घटाउन’ आग्रह गरेका थिए।
डेमोक्र्याट नेताले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि निमन्त्रणा गरेका छन्। तर बाइडेनका प्रवक्ताले भने ट्रम्पको टोलीले कानुनी सङ्क्रमण प्रक्रिया सुरू गर्न अनुमति दिने महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर नगरेको बताएका छन्।
यद्यपि बाइडेनले आफ्नो उमेरको बाबजुद दोस्रो कार्यकालका लागि चुनाव लड्ने प्रारम्भिक निर्णय जुलाईमा अन्तिम समयमा पद छोड्नुअघि र उपराष्ट्रपति ह्यारिसलाई बागडोर सुम्पिनुभन्दा पहिले नै पार्टीमा औंला उठिसकेको छ।
ह्वाइट हाउसले बाइडेनलाई कुनै पछुतो नभएको बताएको छ।
अर्थतन्त्र र आप्रबासी समस्यालाई लिएर व्यक्त भएका मतदाताको चिन्ताले ट्रम्पको जितलाई प्रेरित गरेको छ।
ट्रम्पको पहिलो क्याबिनेट चयन वाइल्सलाई उनको टोलीमा व्यापक समर्थन प्राप्त छ र बुधबार बिहान उनको विजय भाषणको क्रममा विशेष गरी स्टेजमा बोलाइएको थियो।
ट्रम्पले भने, ‘सुसी कडा, स्मार्ट, नयाँ हुनुहुन्छ, विश्वव्यापी रूपमा उहाँलाई प्रशंसा र सम्मान छ। सुसीले अमेरिकालाई फेरि महान बनाउन अथक प्रयास जारी राख्नुहुनेछ।’ -(रासस/एएफपी)
कात्तिक २४, २०८१ शनिबार १४:४८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।