सुदूरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

सुदूरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ।

करिअर पार्टनरको रूपमा सुदूरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो। सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरे।

मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जब पछिल्लो एक दशकदेखि आम जनमानसमा आफ्नो सेवा पुर्याउँदै आएको छ।

नेपाली क्रिकेटले नयाँ फड्को लिएको समयमा कुमारी जबले सुदूरपश्चिम टोलीमार्फत आफ्नो उपस्थितिका साथ सहकार्य गर्न लागेको हो।

रोयल्सका सिइओ प्रकाश खड्काले यस कदमको स्वागत गर्दै नेपाली क्रिकेटमा लामो समयदेखि साझेदारी गर्दै आएको कुमारी जबसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।

कुमारी जबका प्रबन्ध निर्देशक भण्डारीले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी लागेको र नेपालमै पहिलो पटक हुन लागेको एनपिएलमा करिअर पार्टनरको रुपमा सहमति गर्न पाउँदा खुसी लागेको बताए।

रोयल्सले विदेशी खेलाडीमा न्युजिल्याण्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्तफा, स्कटल्यान्डका ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ। त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा छन्।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।

रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ। रोयल्सले कार्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदूरपश्चिम हिरोज छनोट गर्नेछ। छनोट कार्यक्रम धनगढीमा हुनेछ।

आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नेछन्। छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ।

कात्तिक २४, २०८१ शनिबार १४:११:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।