डा. प्रकाशको उपचार अनुभव : २२ वर्षीया गर्भवतीले जन्माउन नसकेको मृत बच्चाको टाउको काटेर निकाल्नु परेको त्यो घटना

डा. प्रकाशको उपचार अनुभव : २२ वर्षीया गर्भवतीले जन्माउन नसकेको मृत बच्चाको टाउको काटेर निकाल्नु परेको त्यो घटना

प्रकाश भट्टराई ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपीइएम)’ विशेषज्ञ चिकित्सक हुन्। समग्र रोगको उपचार गर्ने चिकित्सकीय विधाको अध्ययन गरेका उनले चिकित्सकीय पेशाका शिलशिलामा बिरामीले भोग्नुपरेका सास्ती नजिकबाट नियालेका छन्। उनै डा. प्रकाशले चिकित्सकीय पेसाको शिलशिलामा देखे-भोगेका सुख-दु:खका अनुभव उकेरासँग साटेका छन्।

मृत बच्चाको टाउको काटेर निकाल्नु परेको त्यो घटना
करिब आठ वर्षअघि डा. प्रकाश सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपीइएम)’ विषय अध्ययन गरिरहेका थिए। अस्पतालको प्रसूति विभागमा ड्युटीमा रहेका बेला ‘इद’ पर्वका दिन एक जना सुत्केरी बेथाले च्यापिएकी करिब २२ वर्षकी गर्भवती अस्पताल भर्ना भइन्।

ती २२ वर्षीया महिला बच्चा जन्माउन नसकेर छट्पटिरहेकी थिइन्। चिकित्सकको टिमले ती महिलाको स्वास्थ्य अवस्था हेर्यो। आवश्यक स्वास्थ्य जाँच गर्यो। स्वास्थ्य जाँच गरेर हेर्दा ती महिलाको गर्भमा बच्चा उल्टो बसेको रहेछ। उल्टो बसेकै कारण बच्चा जन्मने क्रममा ती गर्भवतीको बच्चादानी (योनी)बाट बच्चाको टाउको पहिले बाहिर निस्किएछ।

तर, बच्चाको काँध भने बाहिर आउन सकेनछ। बच्चाको टाउको बाहिर निस्कने अनि शरीर भने आमाको गर्भमा नै अड्किने यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘सोल्डर डिस्टोसिया’ भनिन्छ। ती गर्भवती महिलाले जतिसुकै बल गर्दा पनि बच्चा जन्मन सकेन। चिकित्सकीय विधि अपनाउँदा समेत बच्चा जन्माउन सम्भव भएन। शुरूमा आमा र बच्चा दुवैको ज्यान बचाउन चिकित्सकको टिम लागि पर्यो। तर, टाउको निस्केको अनि शरीर अड्किएका कारण केही बेरमा नै बच्चाको मृत्यु भइहाल्यो।

गर्भमा अड्किएको बच्चालाई बचाउन सम्भव नभएपछि चिकित्सकको टिम आमालाई बचाउनतर्फ लाग्यो। चिकित्सकको टिमले ती महिलाको बच्चादानी(योनी) बाहिर निस्किएको मृत बच्चाको टाउको काटेर निकाल्यो। जन्मन नसकी अड्किएको मृत बच्चाको टाउको काटेर निकाल्नु बाहेक कुनै अर्को चिकित्सकीय विधिको विकल्प भएन।

अनि चिकित्सकको टिमले गर्भमा नै रहेको मृत बच्चाको शरीरको भाग महिलाको शल्यक्रिया (सिजरियन सेक्शन) गरी निकाल्यो। शल्यक्रिया सफल भयो। चिकित्सकको टिमले जन्मन नसकी मृत भएको बच्चाको टाउको र शरीर ती महिलाको आफन्तको जिम्मा लगायो।

ती महिलाको जन्मन नसकेको बच्चालाई बचाउन त सम्भव भएन। तर, चिकित्सकको टिम आमालाई बचाउन भने सफल भयो। केही दिनको अस्पताल बसाईपछि ती महिला डिस्चार्ज भएर घर फर्किइन्। त्यसरी ती महिलाको जन्मन नसकेको बच्चाको टाउको काटेर र शरीर छुट्याएर मृत बच्चा निकाल्दाको त्यो घटना सम्झँदा अझै डा. प्रकाशको आङ जिरिङ्ग हुन्छ।

मानसिक रोग भन्ठानेकी महिलाको गर्भमा मृत भ्रुण भेटिएपछि...
करिब ११ वर्षअघि डा. प्रकाश पोखराको ‘लेखनाथ सामुदायिक लायन्स अस्पताल’मा मेडिकल अधिकृतका रूपमा छात्रवृत्ति करारमा काम गर्थे। त्यहाँ करिब २५ वर्षकी गर्भवती महिलालाई अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो।

अस्पताल पुर्याउँदा ती महिलाले काम्ने, रुने, कराउने तथा चिच्याउने जस्ता अस्वाभाविक लक्षण देखाइरहेकी थिइन्। त्यसैले चिकित्सकहरूले ‘कन्भर्जन डिसअर्डर’ मानसिक समस्याको लक्षणको शंका गर्दै त्यही अनुसारको ती महिलाका लागि उपचार विधि अपनाएका थिए। ती महिलाको लक्षण पनि थियो, त्यस्तै नै। 

ती महिला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको केही बेरमा डा. प्रकाश ड्युटीमा आकस्मिक कक्षमा पुगे। डा. प्रकाश पुगेपछि ती महिलाको उपचार गरेको चिकित्सकको टिम ती महिलामा मानसिक समस्याको लक्षण देखिएको ‘ब्रिफिङ’ गरेर अस्पतालको ड्युटी सकेर हिँड्यो।

अस्पतालको ड्युटीमा पुगेपछि डा. प्रकाशले आकस्मिक कक्षमा भर्ना भएकी ती महिलाको स्वास्थ्य अवस्था हेरे। स्वास्थ्य अवस्था हेर्दा ती महिलालाई गर्भवती सम्बन्धी समस्या भएको हुनसक्ने उनले शंका गरे। त्यसैले उनले महिलाको थप स्वास्थ्य परीक्षण गरे। थप स्वास्थ्य परीक्षण गर्दा त ती महिलामा डा. प्रकाशले शंका गरेको जस्तै समस्या देखियो।

स्वास्थ्य परीक्षणपछि ती महिलाको गर्भ पाठेघरमा नबसी पाठेघर बाहिरको नलीमा बसेको थाहा भयो। त्यसैले त्यो गर्भ बसेको पाठेघर बाहिरको नली फुटेर महिलाको शरीरभित्र आन्तरिक रक्तश्राव भइरहेको रहेको थाहा पनि भयो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ।

यसरी आन्तरिक रक्तश्रावका कारण महिलालाई निक्कै पीडा भइरहेको थियो। त्यसैले ती महिला असह्य पीडाका कारण रुने, कराउने तथा चिच्याउने, छट्पटाउने जस्ता अस्वाभाविक व्यवहार गर्न विवश थिइन्। वास्तविक समस्या थाहा भएपछि भने डा. प्रकाशको टिमले कत्ति पनि ढिला नगरी शल्यक्रिया कक्षमा लगेर ती महिलालाई रगत दिइहाल्यो। अनि चिकित्सकको टिमले महिलाको शल्यक्रिया गरेर पाठेघर बाहिरको नलीमा बसेको मृत भ्रूण निकाल्यो र रक्तश्राव बन्द गर्यो।

त्यो भ्रूण करिब १३ हप्ताको थियो। ती २५ वर्षीया महिलाको शल्यक्रिया सफल भयो। महिलाको ज्यान बाँच्यो र ठिक भएर घर फर्किइन्। केही समय मात्रै ती महिलाको वास्तविक समस्या पहिचानमा ढिला भएको भए ज्यानै जान सक्थ्यो। तर, बेलैमा समस्याको पहिचान भएका कारण चिकित्सकको टिम ती महिलाको ज्यान बचाउन सफल भयो।

डा. प्रकाश अहिले पनि सोच्छन्, ‘ओहो! ती महिलालाई मानसिक रोग हो भन्ठानेर तुरुन्तै थप स्वास्थ्य परीक्षण नगरिएको भए त ज्यानै जाने रहेछ। धन्न ज्यान बचाइयो।’

भारतमा मृत महिलाको मुटुको ढिक्कै फेरेका ती ४१ वर्षीय पुरुषको कथा
पोखराका एक पुरुषको करिब ३५ वर्षको उमेरमा मुटुले काम गरेनछ। ती पुरुषले डा. प्रकाशलाई भने अनुसार ती पुरुषको मुटुले काम नगरेपछि दुर्घटनामा परेर मृत्यु भएकी एक जना महिलाको मुटु फेरेका रहेछन्, त्यो पनि भारतमा।

भारतको एक अस्पतालमा करिब एक वर्षभन्दा बढी समयको पर्खाइपछि ती पुरुषले पुरै मुटुको ढिक्कै नै फेरेका रहेछन्। डा. प्रकाशले भने अनुसार मृत्यु भएका व्यक्तिको मुटु आधा घण्टा भन्दा कम समयमा ती पुरुषको ज्यानमा राखि सक्नुपर्ने थियो। जुन आफैँमा चुनौतीपूर्ण थियो।

मृत्यु भएका व्यक्तिका आफन्तले अङ्ग दान गर्न राजी हुनु त्यति सहज विषय हैन। त्यसमाथि पनि विविध कानूनी र चिकित्सकीय प्रक्रिया तथा विधि अपनाएर मुटु फेर्ने प्रक्रियासम्म पुग्नु आफैँमा चुनौतीपूर्ण हुने डा. प्रकाशले सुनाए। ती महिलाले भने अंग दानको घोषणा गरेकी रहिछन्।

तर पनि निक्कै अनुरोधपछि दुर्घटनामा परेकी महिलाका आफन्तले मुटु दान गर्न राजी भएछन्। ती पुरुषले मुटु फेर्न तयारी गरेको अस्पताल भन्दा अन्य अस्पतालमा नै ती महिलाको मृत्यु भएको रहेछ। त्यसैले ती मृतक महिलाको मुटु ती पुरुषमा राख्नको लागि सडक नै खाली गरेर द्रुत गतिमा अर्को अस्पतालमा लगेर फेरिएको ती पुरुषले बताएको डा. प्रकाशले सुनाए।

ती पुरुषको मुटु परिवर्तन (प्रत्यारोपण) गरेको पाँच वर्ष भएको र आफूसँग फलोअपमा रहेको उनले सुनाए। सामान्य समस्या हुँदा आफैँले सल्लाह दिने गरेको र ती पुरुषलाई मुटुसम्बन्धी थप समस्या भएको अवस्थामा उनले ‘फलोअप’ गरिरहेका चिकित्सकसँग भारतमा सम्पर्क गराइदिने गरेको डा. प्रकाशले सुनाए। ३५ वर्षको उमेरमा मुटु फेरका ती पुरुषको उमेर अहिले करिब ४१ वर्ष भएको उनले सुनाए।

सात महिनामा जन्म, ६ महिनासम्म कपाल नै आएन
प्रकाश कास्कीको पोखरा महानगरपालिका-३०, शिशुवामा २०३९ मा जन्मिएका हुन्। उनी बुवा आमाको पहिलो सन्तानका रूपमा सात महिनामा जन्मिएका रहेछन्। सात महिनामा जन्मिएकाले कसैले पनि ‘यो’ बाँच्ला भन्ने आशामा थिएनन्।

जन्मिने बित्तिकै हजुरआमाले झिनो आशा साथ हत्केलामा लिएर गुन्युमा बेरेर न्यानो बनाइछन्। केही समयपछि उनी चलमलाउन थालेछन्। श्वास फेर्दै चलमलाउन थालेपछि सफा सुगर गरेर स्याहार सुसार गर्न थालिएछ।
छ महिनासम्म त उनको टाउकोमा खासै कपाल पनि पलाएको थिएन रे। हजुरआमाले पछिसम्म पनि उनलाई ‘तँ त मुसाको बच्चो जत्रो जन्मिएको थिइस्। बाँच्ने त आशै थिएन। गुन्युले हम्किएपछि बल्ल तेरो स्वास आयो’ भन्थिन्।

अध्ययनमा अब्बल, छात्रवृत्तिमा एमबीबीएस अध्ययन
प्रकाशले तीन कक्षासम्म पोखराको स्थानीय वीरभद्र बोर्डिङ स्कुलमा पढे। त्यसपछि सात कक्षासम्म जुनियर सिटिजन एकेडेमीमा पढे। त्यसपछि पोखराकै डाइमण्ड उच्च माविमा आठ कक्षामा भर्ना भएर पढ्न थाले। उनले त्यहीँबाट ८१.४ प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणीका साथ एसएलसी गरे। उनले एसओएस हर्मोन माइनर गण्डकी कलेजबाट प्लस टु गरे।

अध्ययनमा अब्बल प्रकाशलाई डाक्टरी विषय अध्ययन गर्ने इच्छा थियो। नभन्दै उनले सरकारी छात्रवृत्ति कोटामा नै एमबीबीएस अध्ययन गर्ने अवसर पाए। प्रकाश सन् २००४ मा नेपालगञ्ज मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर एमबीबीएस अध्ययन थाले। सन् २००९ मा उनले पाँच वर्षे एमबीबीएस अध्ययन पूरा गरे।

सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गरेवापत डा. प्रकाशले दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसैले उनले आफ्नै जन्मस्थल पोखराको तत्कालीन ‘लेखनाथ सामुदायिक लायन्स अस्पताल’मा गएर दुई वर्ष छात्रवृत्ति करारमा अस्पताल प्रमुखको भूमिकामा काम गरे।

यो अस्पताल स्थानीय समुदायले महायज्ञ लगाएर दान संकलन गरी शुरू भएको उनले सुनाए। अस्पताल सञ्चालनका सुरूवातमा त्यहाँ पुगेका उनले अस्पतालमा स्वास्थ्य सेवाको सुरुवात गर्दा निक्कै संघर्ष गर्नुपरेको अनुभव सुनाए। छात्रवृत्ति करार सकिसकेपछि पनि उनले करिब डेढ वर्ष त्यही अस्पतालमा अस्पताल प्रमुखको भूमिकामा नै काम गरे।

सबै रोगको उपचार गर्ने डाक्टरी विषय अध्ययन
डा. प्रकाशलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले पोखराको कामपछि उनी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०१३ मा भर्ना भएर स्नातकोत्तर तहको ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपीइएम)’ विषय अध्ययन गर्न थाले। उनले ‘एमडीजिपीइएम’ पनि प्रतिष्ठानको छात्रवृत्ति कोटामा अध्ययन गरेका रहेछन्। उनले सन् २०१६ मा ‘एमडीजिपीइएम’ अध्ययन सके।

‘एमडीजिपीइएम’ अध्ययन सकेपछि डा. प्रकाश पुन पोखराकै तत्कालीन ‘लेखनाथ सामुदायिक लायन्स अस्पताल’मा करार जागिरे भएर अस्पताल प्रमुखको भूमिकामा काम गर्न थाले। सन् २०१९ को डिसेम्बर अन्त्यबाट चीनमा कोरोना भाइरस संक्रमण सुरु भयो। त्यसपछि यो अस्पताललाई गण्डकी प्रदेश अन्तर्गत कोरोना भाइरस संक्रमित बिरामीको उपचार गर्ने ‘कोभिड डेडिकेटेड’ अस्पतालका रूपमा प्रयोग गरियो।

सन् २०२० को सुरुमा नै यो अस्पतालको नाम पनि ‘लेखनाथ सामुदायिक लायन्स अस्पताल’बाट परिवर्तन गरेर गण्डकी प्रदेश अन्तर्गतको ‘संक्रामक तथा सरुवा रोग अस्पताल’ नामकरण गरियो। यो टेकुपछि दोस्रो ‘संक्रामक तथा सरुवा रोग अस्पताल’ भएको उनले बताए।

‘संक्रामक तथा सरुवा रोग अस्पताल’मा रूपान्तरण भएपछि पनि उनलाई अस्पताल प्रमुखकै जिम्मेवारीमा रहेर काम गर्ने अवसर नमिलेको हैन। तर, पटक पटक गरी करिब आठ वर्ष अस्पताल प्रमुखकै भूमिकामा काम गरेका उनले त्यो अस्पताल छोडे।

त्यसपछि डा. प्रकाश आफैँले पोखरामा एउटा ‘पोलि क्लिनिक’ खोलेर काम गर्न थाले। पोखरामा हाल उनका दुई वटा ‘पोलि क्लिनिक’ रहेछन्। करिब ६ महिना यता भने उनी ‘पोखरा विश्वविद्यालय शिक्षण अस्पताल’को ‘जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभाग’मा उप-प्राध्यापकका रूपमा कार्यरत छन्। त्यसैले चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु अनि बिरामीको औषधि उपचार गर्नु डा. प्रकाशको अहिलेको दैनिकी हो।

अवसर छ है!
डा. प्रकाश चिकित्सकीय पेशा मर्यादित हुनुपर्ने तर्क गर्छन्। अनुशासन कायम नहुँदा विचलन निम्तिने जोखिम हुने तर्फ उनी सचेत छन्। तर, कुनै पनि बिरामीको उपचारमा चिकित्सकले लापरबाही नगर्ने विषयमा उनी विश्वस्त छन्।

त्यसो त डा. प्रकाश नेपालमा नै चिकित्सकका लागि अवसर समेत रहेको तर्क गर्छन्। नेपालमा चिकित्सकका लागि अवसर नै नभएर विदेशिहाल्नुपर्ने अवस्था भने नरहेको उनको तर्क छ। नेपालमा नै बसेर समेत सन्तुष्टि लिन सकिने अवसर रहेको उनले सुनाए।

कात्तिक २३, २०८१ शनिबार १२:३१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।