‘रुरु पिताम्बरी’को दुई नयाँ उत्पादन बजारमा, १० सप्लायर्सलाई बाँड्यो २५ तोला सुन
काठमाडौं : धातुका भाँडा सरसफाइका लागि उत्पादित ‘रुरु पिताम्बरी’को मातृ कम्पनी ‘पीथ्री पडक्ट’ले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ।
ललितपुरको पुल्चोकमा शुक्रबार एक कार्यक्रमका बीच कम्पनीले स्थापनाको १५ औं वार्षिकोत्सव मनाएको हो।
वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना दुई नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै १० सप्लायर्सलाई २५ तोला सुन समेत वितरण गरेको थियो।
कम्पनीले किचेन क्लिनरको रूपमा ‘रुरु इज लिक्विड’ र धातुका भाँडा सरसफाइकै लागि प्लास्टिकको बट्टामा उपलब्ध हुने ‘रुरु रत्न’ पनि सार्वजनिक गरेको छ।
यसअघि कम्पनीले पाउचमा ‘रुरु पिताम्बरी’ उत्पादन गर्दै आइरहेको थियो। ‘रुरु रत्न’ रुरु पिताम्बरीकै अपग्रेडेट रूप हो।
विदेश निर्यातलाई ध्यानमा राख्दै प्लास्टिकको बट्टामा यसको उत्पादन थालिएको कम्पनीकी अध्यक्ष उर्मिला पाण्डेले जानकारी दिइन्।
त्यसैगरी कम्पनीले सबैभन्दा धेरै उत्पादन बिक्री गर्ने १० सप्लायर्सलाई सुन वितरण गरेको छ।
ओमकार स्टोरकी लिला पाण्डेले सबैभन्दा धेरै उत्पादन बिक्री गरेर १३ तोला सुन पाउँदा केएनपी सप्लायर्स र गरिमा इन्टरप्राइजेजले दुई-दुई तोला सुन उपहार पाएका छन्।
त्यसैगरी धनाक्ष स्टोर, तीन भाइ सप्लायर्स र वाई एण्ड बी डिजरजेन्ट प्रालिले साढे १ तोला सुन पाउँदा टण्डन इन्टरप्राइजेज, नुवाकोट स्टोर, धातु सप्लायर्स र ४. सुरज अधिकारीले समान एक-एक तोला सुन उपहार पाएका छन्।
कार्यक्रमका प्रमुख अतिथि एवं नबिल बैंकका सीईओ मनोज कुमार ज्ञवालीले काठमाडौं महानगरले मौलिक सम्पदाको सरसफाइ गर्न लागेकाले यस्तो व्यवसायको सम्भावना अझै बढी रहेको भन्दै कम्पनीको प्रगतिको कामना गरे।
त्यसअघि पी थ्री पडक्टकी अध्यक्ष उर्मिला पाण्डेले कम्पनी स्थापनाको अवस्थादेखि १५ वर्षसम्मको अनुभव सुनाइन्। त्यस क्रममा उनले स्थापनाकालको संघर्ष सम्झेर केही भावुक समेत बनेकी थिइन्।
यसैगरी कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि सप्लायर्सलाई प्रोत्साहित गर्न नयाँ योजना समेत ल्याएको छ। ५ सय प्याकेट सामान बेच्नेलाई ६० हजार, एक हजार प्याकेटसम्मको लागि एक लाख ३० हजार, १५ सय सम्मका लागि दुई लाख रुपैयाँको पुरस्कार दिइने छ।
त्यसैगरी दुई हजार प्याकेटसम्म दुई लाख ९० हजार, तीन हजार प्याकेटसम्म चार लाख ९० हजार, चार हजार प्याकेटसम्म ६ लाख ५० हजार, पाँच हजार प्याकेटसम्म नौ लाख रुपैयाँ पुरस्कार दिइने छ।
यसका अलावा वार्षिक छ हजार प्याकेटसम्म १० लाख ८० हजार, सात हजार प्याकेटसम्म १२ लाख ६० हजार, आठ हजार प्याकेटसम्म १४ लाख ५० हजार, नौ हजार प्याकेटसम्म १६ लाख ३० हजार र १० हजार प्याकेटभन्द माथि २० लाख रुपैयाँको पुरस्कारको व्यवस्था गरेको छ।
कात्तिक २४, २०८१ शनिबार ०९:१८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।